सूर्यविनायक नगरपालिकाको ६८ लाख सहयोगमा नवनिर्मित डोलेश्वर मन्दिर प्रवेश गर्ने मूलद्धारको उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले मेला तथा डोलेश्वर महादेव मन्दिर प्रवेश गर्ने मुलद्धारको पनि उद्घाटन गर्नुभयो । मुलद्धार सूर्यविनायक नगरपालिकाको ६८ लाख सहयोगमा निर्माण गरिएको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले डोलेश्वरको मन्दिरको लागि कुनै पनि सहयोग गर्न तयार रहेको बताउँदै मेलाबाट उठ्ने भेटीबाट उठेको रकमसहित आवश्यक बजेट विनियोजन गरेर हिड्ने बाटोको ढुंगा छपाई कार्य सम्पन्न गर्ने बताउनुभयो ।

मेयर थापाले सूर्यविनायक नगरपालिकामा रहेको शिवालयहरुमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरिरहेको बताउनुभयो । शिवालयहरुलाई समेटेर एकै दिनमा १ देखि १० वडासम्म रहेको शिवमन्दिरहरुमा घुम्न सकिने गरि रुट तय गर्दै नगरपालिकाले शिव सर्किटको निर्माण गरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा डोलेश्वर विकास समितिका संरक्षक भरत जंगमले डोलेश्वरलाई केदारनाथको शीर घोषणा गर्दाको बखतदेखि वर्तमान अवस्थामा आइपुग्दा झेल्नुपरेको सघर्षको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सूर्यविनायक नगरपालिकामा डोलेश्वर, आशापुरी, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, नन्दिकेश्वर, लटरम्बेश्वरलगायतका प्रसिद्ध शिवालयहरु रहेकाले यस क्षेत्रलाई नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको बिकासको रुपमा अगाडि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न वडा कार्यालयले समितिसँग समन्वय गरी अघि बढिरहेको जानकारी गराउनुभयो ।