सूर्यविनायक नगरका १० वटै वडालाई जोड्ने गरि बन्यो शिव सर्किट, १५ वटा शिवालयलाई समेटियो

भक्तपुर: प्राकृतिक सुन्दरताले भरिपूर्ण छ भत्तपुरको सूर्यविनायक नगरपालिका । आँखालाई शितल दिने हरियाली डाँडाकाडा अनि आस्थाका धरोहर शिवालय मठमन्दिरहरु । यस्तो लाग्छ, प्रकृतिको सम्पूर्ण उपहार यहि नै भेटिन्छ ।

केदारनाथको शीर डोलेश्वरमहादेवको मन्दिर, धर्मेश्वर महादेव, गुप्तेश्र्वर महादेव,सोमलिङेश्र्वर महादेव लगायतका शिवालय यहि नगरपालिकाको माटोमा सजिएका छन् । यीनै शिवालयहरुलाई पर्यटकीय गन्तब्य बनाई पर्यटन प्रवद्र्धन गर्ने जब मेयर बासुदेव थापामा हुटहुटी बढ्यो तब शिवसर्किट मार्गको परिकल्पना सुरु भयो ।

दुई कार्यकाल नगरप्रमुख भएर नगरपालिका हाक्नु भएका मेयर थापाको यो दोस्रो कार्याकाल हो । तर शिव सर्किटको परिकल्पना भने अघिल्लो कार्यकालमा नै सुरु भएको थियो । जुन सपना दोस्रो कार्यकालमा पूरा भयो ।

आफुले देखेको सपना पूरा भएर नै होला मेयर थापा शनिबार गरिएको शिवसर्किट अवलोकन भ्रमणका क्रममा निकै नै सक्रिय अनि उत्साही देखिनु हुन्थ्यो । दिनभरि नै गरिएको यात्रामा शिवसर्किट अन्तर्गतका १५ वटा नै शिवालयहरुको अवलोकन गरिएको थियो । शरिर अस्वस्थ्य थियो तर पनि अनुहारमा छुटै चमक थियो ।

सो अवसरमा मेयर थापा संगै उपप्रमुख सरिता तिमील्सीना भटराई, प्रमुख प्रकाशकिय अधिकृत श्रीधर केशी , सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,नगरसभा सदस्यहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शिव मन्दिरहरुको महत्वकोबारेमा जानकारी पनि प्रदान गरिएको थियो ।

पर्यटकहरुले एकैदिन शिवसर्किटको परिक्रमा गर्न सक्नेछन् । नगरपालिकाको वडा नं २ स्थित धर्मेश्वर महादेव, गुप्तेश्र्वर महादेव, वडा नं १ मा रहेको सोमलिङेश्र्वर महादेव, वडा नं ४ मा रहेको चरखण्डिश्र्वर महादेव , अननन्तलिङ्गेश्र्वर महादेव, ७ नं वडामा रहेको मत्क्षेश्वर महादेव , रामभक्तेश्र्वर महादेव , ५ नं वडामा रहेको सुवर्णेश्र्वर महादेव, वडा नं ६ र ८ मा रहेको सुर्यविनायक गणेश मन्दिर, ८ नं वडामा रहेको आसापुरेश्र्वर महादेव, १० नं वडामा रहेको कैलाश महादेव , नटरम्भेश्र्वर महादेव, महाकालेश्वर महादेव, ९ नं वडा मा रहेको नन्दकिशोर महादेव र ८ नं वडामा रहेको केदारनाथको शीर डोलेश्वर महादेवको मन्दिर रहेका छन् । पर्यटकहरुलाई शिवालयसम्म पुग्नका लागि नगरपालिकाले कच्ची सडकलाई पक्की बनाएको छ ।

शिवसर्किट मार्गले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने मेयर बासुदेव थापाले विश्वास व्यक्त गर्नु भयो । वडा नं २ को धर्मेश्वर महादेवबाट सुरु भएको यात्रा वडा नं ८ स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरसम्म पुगेर आरती गर्दै टुगिंएको थियो । सोही अवसरमा केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिर विकास समितिलाई शिवसर्किटको नक्सा हस्तान्तरण गरिएको थियो ।