सूर्यविनायक नगरपालिकाको सराहनीय काम: स्थानीय तहमै पहिलो पटक १० वटै वडाका लम्पी स्किन पीडीत किसानलाई राहत वितरण

भक्तपुर: सूर्यविनायक नगरपालिकाले लम्की स्कीन पीडीत किसानहरुलाई अनुदान सहयोग गरेको छ । लम्की स्कीनका कारण गाई मरेका किसानलाई क्षतिपूर्तिस्वस्प अनुदान सहयोग गरिएको हो ।

नगरपालिकाले १० वटै वडाका किसानलाई दुहुनो गाई बरावर १० हजार र ब्याउने र बाछीलाई ७ हजारको दरले राहत दिएको हो । नगरपालिकाले २४७ जना किसानका मरेका ३१६ गाईको लागि २७ लाख ५२ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो ।

नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले अनुदान वितरण गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले लम्पी स्कीन रोगको कारण धेरै किसानको क्षति भएको र किसानलाई पशुपालन ब्यवसायबाट विस्थापीत हुन नपरोस भन्ने उद्देश्यले अनुदान सहयोग गरिएको बताउनुभयो ।

नगरपालिकाले राहत दिने निर्णय यसअघि नै गरेको भए पनि विविध कारणले वितरणमा ढिलो भएको पनि उहाँले बताउनुभयो ।

लम्पी स्कीन महामारीको समयमा पशु चिकित्सकहरु पठाएर सकेको सहयोग गरेको बताउँदै नगर प्रमुख थापाले नगरपालिकाले सकेसम्म आफ्नो कर्तब्य निर्वाह गरेको र आगामी दिनमा पनि किसानको लागि थप कार्यक्रम ल्याइने बताउनुभयो ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले किसानलाई कृषि पेसामा आर्कषित गरि राख्न किसानलाई प्रोत्साहनस्वस्प अनुदान दिइएको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, नगर प्रवक्ता रविन्द्र सापकोटालगायत वडाध्यक्षहरु र जनप्रतिनिधिहरुको सहभागिता थियो ।