सूर्यविनायकका मेयर थापाद्धारा शिव सर्किटमा समेटिएको नटरम्मेश्वर महादेवको मन्दिर उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं १० चित्तपोल भंगाल स्थित नटरम्मेश्वर महादेवको मन्दिर बिधिगत रुपमा उद्घाटन गरिएको छ ।

नगर प्रमुख बासुदेव थापाले बिहीबार आयोजित कार्यक्रमकाबीच महादेव तथा सत्यदेवी माता सेवा समितिको २१ औं वार्षिक कार्यक्रम तथा मन्दिरको उद्घाटन गर्नुभएको हो । नटरम्मेश्वर महादेव मन्दिर नगरपालिकाले शिवसर्किट अन्तर्गतका समेटेको १५ वटा नै शिवालयहरुमध्ये पर्दछ ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरभित्रका शिवालयहरुको पुर्ननिर्माण तथा संरक्षण गरेर नगरलाई पर्यटकीय गन्तब्य बनाई पर्यटन प्रवद्र्धनमा लागिपरेको बताउनुभयो ।

शिव सर्किटको परिकल्पना अघिल्लो कार्यकालमा नै सुरु गरिएको भए पनि अब पूरा हुन लागेको मेयर थापाले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वडा नंं १० का वडाध्यक्ष शिवराम रावत, कार्यापालिका सदस्य शर्मिला लम्साल बस्नेतले चित्तपोलमा विकासको गति तीब्र गतिमा भइरहेको र अधूरा योजनाहरु पूरा गर्न अझै बाँकि रहेकाले सबैको सहयोगमा अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि तथा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।