नन्दीकेश्वर महादेव मन्दिर पुन: निर्माण, सूर्यविनायकका मेयर थापाद्धारा गजुर प्रतिस्थापन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं ९ नंखेल स्थित पुरातात्वीक, ऐतिहासिक तथा प्राचीन लिच्छवीकालीन नन्दीकेश्वर महादेव मन्दिर पुनः निर्माण तथा गजुर प्रतिस्थापन गरिएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले एक कार्यक्रमकाबीच मन्दिरमा गजुर प्रतिस्थापन गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले नन्दिरकेश्वर महादेव क्षेत्रमा मन्दिरलाई सुहाउँने गरि भक्तजनको सेवा सुविधालाई मध्यनजर गरि प्रागणमा ढुंगा विछ्याउने र प्रांगणको बाटो (सडक) मा धुलो नहुने गरि स्तरोन्नति गने कार्यमा नगरपालिकोको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

गजुर प्रतिस्थापनमा नंखेल बासुरी तथा धाँ बाजा समिति, नंखेल धिमे बाजा समूह, नंखेल हरिभजन र नंखेल ब्याण्ड बाजाले संयुक्त रुपमा बाजागाजा प्रस्तुत गरेका थिए ।

गजुर पतिस्थापनसँगै सोही मन्दिरमा धार्मिक विधी, पञ्चायन पुँजा, रुद्री, हवान (होम) र क्षमा पुँजा समेत गरिएको थियो । पुरातत्व विभागबाट २ करोड १९ लाखमा मन्दिर पुन निर्माण गरि गजुर प्रतिस्थापन गरिएको हो ।

नन्दीकेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष श्रीराम ब्यान्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्दिरमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

मन्दिरमा कलात्मक ढुंगाका साथै ठूलो घण्टी छढाउने स्वर्गीय मेगलला सुकुभटुको परिवार र छोरी गंगासागर सुकुभटुको परिवार, समग्र मन्दिर क्षेत्रको योगदान गरेवापत संरक्षक पण्डित रामप्रसाद सत्याल, मन्दिर पुनः निर्माणमा समितिले दिएको जिम्मेवारी वहन गरि योगदान गर्ने समितिका कोषाध्यक्ष इन्द्रप्रसाद ब्यान्जु, मन्दिरमा दुईतले छानामा सानो घण्टी १३६ वटा चढाएर योगदान गर्ने नन्दिकेश्वर ढल निकाश तथा विकास समितिलाई समेत सम्मान गरिएको अध्यक्ष ब्यान्जूले जानकारी दिनुभयो ।

गजुर प्रतिस्थापन कार्यक्रममा प्रदेश सभा सदस्य किरण थापा, नगरपालिकाका उपप्रमुख सरिता तिमल्सिना भट्टराई, नगर प्रवक्ता रविन्द्र सापकोटा, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीलगायत जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो