विकास निमार्णसँगै खेलकूद क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएका छौ: मेयर, बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरपालिकाले विकास निर्माणका साथै खेलकूद क्षेत्रलाई पनि विशेष प्राथमिकता दिदै अगाडि बढेको बताउनु भएको छ । भक्तपुरमा जिल्लाब्यापी १२ औं राष्ट्रपति रनिङ्ग शील प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभएको हो ।

मेयर थापाले खेलमा हार जीत जे भए पनि भाग लिनु नै ठूलो कुरा भएको बताउनुभयो । सूर्यविनायक नगरपालिकाले नंखेलमा रंगशाला निर्माणको लागि ४ करोड बजेट छुट्याएको बताउँदै रंगशाला निर्माण भइसकेपछि भक्तपुरमा राष्टियस्तरका खेलकुद प्रतियोगिता गर्न सकिने बताउनुभयो ।

भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जिल्लाका चार नगरपालिकाका करिब ७ सय ५१ जना खेलाडी सहभागि रहेको प्रतियोगीतामा विभिन्न ठाउँमा भइरहेको बताउनुभयो । प्रतियोगितामा भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डी खेल खेलाइएको उहाँले बताउनुभयो । प्रतियोगिता आइतबारसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा मनोरम ई स्कुलका विद्यार्थीले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, एमाले भक्तपुरका अध्यक्ष वचन देउवा, प्याब्सन मध्यपुरथिमि नगर अध्यक्ष निलेश आचार्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, खेल प्रशिक्षक तथा खेलाडीहरुको शुभकामना दिनु भएको थियो ।