
भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरबासीलाई शुद्ध खानेपानी पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ । नगरबासीको खानेपानी समस्यालाई विशेष महत्व दिएर नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको मेयर थापाले बताउनुभयो । आफू पुन: विजयी भएपछि यसअघिका अधुरा योजना पूरा गर्न एकजुट भएर लागिपरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

नंखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा उद्घाटन गर्नुहुँदै मन्तब्य राख्ने क्रममा मेयर थापाले नगरपालिकाले ‘एक घर एक धारा’ को नीति अनुसार माथिल्लो निकायसँग पहल गरेर खानेपानीको समस्या समाधा गर्न अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले १ देखि ६ सम्मका वडामा मेलम्चीको खानेपानी वितरणको लागि नगरपालिकाले ८ करोड बजेट छुट्याएर काम अगाडि बढाइरहेको बताउनुभयो । यो वर्षभित्र वडा नं १ देखि ६ सम्मका नागरिकहरुलाई मेलम्ची खानेपानीको सुविधासहित कम्तिमा ९५ प्रतिशत घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था मिलाइने योजना रहेको पनि मेयर थापाले बताउनुभयो ।