सूर्यविनायक नगर अस्पतालले मनायो दोस्रो वार्षिक उत्सव, मेयर थापाद्धारा उद्घाटन

जगाती: सूर्यविनायक नगर अस्पतालले दोस्रो वार्षिक उत्सव मनाएको छ । सोमबार एक समारोहकाबीच आयोजित कार्यक्रमम नगर प्रमुख तथा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष बासुदेव थापाले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मेयर थापाले अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई ब्यहोर्नु परेको बताउनुभयो । मेयर थापाले सेवा विस्तार गर्दै अस्पताललाई अझ ब्यवस्थित बनाउन लागिपरेको बताउनुभयो ।

अस्पताल स्थापनासँगै नगरबासीलाई उपचारमा १५ प्रतिशत छुटको ब्यवस्था गर्दै आएको बताउँदै मेयर थापाले नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउँदै आएको र विमा गर्नेलाई छुटको ब्यवस्था पनि गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत तारानाथ लुइँटेल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्मा, नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता रविन्द्र सापकोटालगायतले भनाई राख्नु भएको थियो । कार्यक्रममा १० वटै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि तथा अस्पतालका कर्मचारीहरुको सहभागिता थियो ।

अरनिको राजमार्गसँगै जगातीमा रहेको नगर अस्पताल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । अस्पताल परिसर निकै सुन्दर र सफा छ भने वरिपरिको वातावरणले सबैलाई लोभ्याउँने गरेको छ ।

निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ ।

आफ्नै अक्सिजन प्लान्ट रहेको अस्पतालमा स्थानीय जनसमुदायहरुले पनि यहिबाट कम मुल्यमा अक्सिजन भरेर लग्ने गरेका छन् जसले गर्दा स्थानियहरु लाभान्वित हुने गरेका छन् ।

अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् ।