सूर्यविनायकका नगर प्रमुख बासुदेव थापाद्धारा पकाण्डोल चरखण्डी खोलामा कन्भर्ट निर्माणको शिलान्यास

सिरुटारा: सूर्यविनायक नगरपालिका वडा नंं १ को पकाण्डोल चरखण्डी खोलामा कन्भर्ट निर्माण हुने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सो कन्भर्ट निर्माणको शिलान्यास गर्नुभयो । नगरपालिकाको १५ लाख सहयोगमा निर्माण हुन लागिरहेको कन्भर्ट आगामी बैशाखसम्म निर्माण भइसक्नेछ ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले चालु आर्थिक वर्षका योजनालाई कार्यान्वयन गर्न निर्माण कार्यलाई तीब्रताका साथ अगाडि बढाइरहेको बताउनुभयो । उहाँले आफ्नो पहिलो कार्यकालमा विकास निर्माण कार्यमा अधुरा रहेका योजनालाई पूरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

नगरको विकासका लागि जनप्रतिनिधिहरु एकजुट भएर लागिपरेको बताउँदै उहाँले नगरबासीको साथ, सहयोग र सल्लाह सुझावको सधै खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, उपभोक्ता समितिका पदाधिकारी र स्थानीयको सहभागिता थियो ।