सूर्यविनायक नगरपालिका ७ र ८ का ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरु सम्मानीत, नगर प्रमुखबाट टेक्ने लौरो उपहार

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं ७ र ८ का ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । वडा नंं ७ र ८ मा आयोजना गरिएको छुट्टा छुट्टै कार्यक्रमकाबीच ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

उहाँहरुलाई नगद चार हजार सहित टेक्ने लौरो र जुस वितरण गरिएको हो । नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सम्मान गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । नगरपालिका ज्येष्ठ नागरिकको साथमा छ भन्ने महसुस गराउन र हौसल्ला प्रदान गर्ने उद्देश्यले पनि सम्मान कार्यक्रम गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले ८० वर्षमाथिको उमेरलाई उत्सवको रुपमा मानेर सम्मान कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।

वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार वडामा ८० वर्ष माथिका ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । उता वडा नंं ८ का भने २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो । आइतबारबाट शूरु गरिएको पाँच दिने सम्मान कार्यक्रम मंगलबार वडा नंं ५ र ६ मा आयोजना गरिदैंछ ।