
सूर्यविनायक: सूर्यविनायक नगरपालिका वडा नंं ८ स्थित पाटी भञ्ज्याङ्ममा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रको आयोजना गरि केन्द्रको उद्घाटन गरिएको हो ।

भौगोलिक हिसावले विकट रहेको सो क्षेत्रमा स्वास्थ्य सेवा केन्द्र नहुँदा स्थानीयले निकै नै समस्या भेल्दै आएका थिए । अब भने एउटा सिटामोल किन्नका लागि समेत सूर्यविनायक पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

उद्घाटनपछि बोल्नुहुँदै नगर प्रमुख बासुदेव थापाले स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न पाउँदा असाध्यै खुसी भएको बताउनुभयो । भूगोलको हिसावले पनि वडा नंं ५ मा विशेष रहेको बताउनुहुँदै नगर प्रमुख थापाले यस वडामा एक नगर अस्पतालसहित तीन वटा स्वास्थ्य सेवा केन्द्र स्थापना भइसकेको बताउनुभयो । उहाँले नगर अस्पतालमा पनि भवन निर्माणसँगै सेवा विस्तार हुने जानकारी गराउनुभयो ।

उहाँले आगामी दिनमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको रुपमा सञ्चालन गर्ने नगरपालिकाले विशेष निर्णय गरेर सरकारले पठाउने औषधि बाहेक पनि पठाउने बताउनुभयो । नगर प्रमुख थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको पनि बताउनुभयो ।

प्रदेश सभा सदस्य किरण थापाले ढिलै भएपनि पाटी भञ्ज्याङ्ममा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना भएको बताउनुहुँदै अब स्थानीयबासीहरु सामान्य उपचारको लागि अन्यन्त्र जानु नपर्ने बताउनुभयो ।

नगर प्रवक्ता रविन्द्र सापकोटाले अघिल्लो कार्यकालमा भौतीक पूर्वाधारमा धेरै जोड दिएकोमा यो पटक स्वास्थ्य चौकी स्थापना भएको र आगामी दिनमा थप सेवा विस्तार गर्दै जाने योजना नगरपालिकाको रहेको बताउनुभयो ।

वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले भौगोलिक हिसावले विकट र तामागं समुदायको बसोबास रहेको स्वास्थ्य सेवा केन्द्र स्थापनासँगै यहाँका स्थानय बासीलाई स्वास्थ्यको पहुँचमा पुग्ने बताउनुभयो ।

वडा सदस्य तथा स्थानीय विक्रम तामागंले सामान्य स्वास्थ्य समस्या हुँदा पनि भक्तपुरको बजारसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी ब्यक्त गर्दै सहयोग गर्ने नगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईसहित वडाका जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता थियो ।
