सूर्यविनायकका बालबालीकाहरुको बस्तुगत विवरण तयार गर्न स्वयंसेवकहरुलाई अभिमूखीकरण

कटुञ्जे : सूर्यविनायक नगरपालिकाले बालबालीकाहरुको बस्तुगत विवरण तयार गर्न स्वयंसेवकहरुका लागि दुई दिने अभिमूखीकरण कार्यक्रम संचालन गरेको छ । १० वटै वडाका स्वयसेवकहरुलाई सहभागि गराएर अभिमूखीकरण कार्यक्रम संचालन गरिएको हो ।


बुधबार आयोजित अभिमूखीकरण कार्यक्रमको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले ‘बालमैत्री अभियान हाम्रो कार्यभार, सूर्यविनायकको आधार’ भन्ने अभिप्राय सहित नगरपालिकालाई २०८३ जेठ मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाले वडा तहमा बालक्लब संजाल र टोल स्तरमा बालक्लब गठन गरि तयारी तीब्र बनाउँदै लगेको बताउनुभयो ।

सामाजीक विकास समितिका संयोजक रविन्द्र सापकोटाले स्वयंसेवकहरुले संकलन गर्ने तथ्यांक आधिकारिक र बस्तुनिष्ट हुने भएकाले इमानदारीताका साथ काममा खटीन आग्रह गर्नुभयो । उहाँले स्वयंसेवकहरुको लागि आवश्यक सेवा सुविधा र आइपर्ने समस्या समाधानमा सहयोग गर्न नगरपालिका तयार रहेको समेत बताउनुभयो ।

वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थले बालमैत्री नगरपालिका घोषणका लागि स्थानीय स्तरमा खट्ने स्वयसेवकहरुको महत्वपूर्ण हात हुने बताउनुभयो । तालिममा प्रत्येक वडाबाट दुई दूई जनाको दरले सहभागि थिए ।