सूर्यविनायकका १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी खुवाउन लागिपरेका छौ : मेयर, बासुदेव थापा

दधिकोट: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले वडा नंं १ देखि ६ वडासम्मका स्थानीयबासीलाई मेलम्चीको खानेपानी खुवाउन लागिपरेको बताउनु भएको छ ।

दधिकोट बृहत् खानेपानी तथा मूल उपभोक्ता समिति र स्याङ्गतान धारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको संयुक्त साधारणसभाको शनिबार उद्घाटन गर्नुहुँदै नगर प्रमुख थापाले सो कुरा बताउनु भएको हो । नगर प्रमुख थापाले हालसम्म नगरका २१ हजार घरधुरीलाई खानेपानी वितरण गरिएको बताउनुभयो ।

नगर प्रमुख थापाले यसै आर्थिक वर्षमा नगरपालिकाको ८ करोडको लगानीमा सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारमा रहेको मेलम्चीको खानेपानी ट्याङ्कीबाट नगरपालिकाको वडा नं. १, २, ३, ४, ५ र ६ नं. वडामा उपभोक्ता समितिबाट ६०÷४० को लागत साझेदारीमा खानेपानी पुर्याउने कार्य करिब ७० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

साथै दधिकोट खानेपानी आयोजनाको लागि ४ लाख लिटर मेलम्चीको खानेपानी वितरण गरिने समेत जानकारी गराउनुभयो । सो आयोजनामा उपभोक्तहरुको सहयोगमा १९ लाख लिटर क्षमताको ट्यांकी निर्माण भइसकेको छ ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराई, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, जनप्रतिनिधिहरु, उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताहरुको सहभागिता थियो ।