सूर्यविनायक नगरपालिकाले ‘किसानको समस्या, नगरको सम्बोधन’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले ‘किसानको समस्या नगरको सम्बोधन’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सो कुरालाई जोड दिएको हो ।

नगर प्रमुख बासुदेव थापाले नगरपालिका भित्र कृषि उपजमा अत्मनिर्भर बनाउन, विषादी अवशेष परीक्षण र स्थानीय रोजगार सिर्जनको लागि कार्यक्रम सञ्चालन गर्न कृषक, कृषक समूह र निजी कृषि फर्मलाई प्रदेश र संघीय सरकारसँगको समन्वयमा कृषिमा आधारित अनुदान उपलब्ध गराउन आवश्यक सहयोग गर्ने नीति लिएको बताउनुभयो ।

नगर प्रमुख थापाले कृषि क्षेत्रको तथ्यांक विवरण संकलन तथा आवश्यक रणनीति तय गर्न सुरक्षीत र भरपर्दो सूचना प्रविधिको माध्यमबाट किसान सूचीकरण तथा कृषक परिचयपत्र वितरण गर्न आवश्यक गृहकार्य गरिने बताउनुभयो ।