
सिपाडोल: सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला समापन गरिएको छ ।

श्रावण १ गते देखि सुरु भएको मेला भाद्र ६ अर्थात् मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको अवसरमा बिहीबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले समापन गर्नुभयो ।

सो असरमा मेयर थापाले डोलेश्वर मन्दिर नगरपालिकाको मात्रै नभई देश तथा विदेशका धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय रुपमा पनि महत्व बोकेको मन्दिरको स्थापना दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिदैं आएको बताउनुभयो ।

मन्दिरको मूल गेट कलात्मक रुपपले निर्माण गर्न नगरपालिकाको तर्फबाट ८५ लाख सहयोग गरेर निर्माण गरिएको उहाँले बताउनुभयो ।

साथै मन्दिर निर्माणको लागि पनि तत्कालीन संघीय सांसद महेश बस्नेतबाट सांसद विकास कोषको ४० प्रतिशत र नगरपालिकाबाट ६० प्रतिशत गरि २ करोड बजेट छुट्याएको, दानबाट उठेको रकम र नगरपालिकाबाट ६०÷४० प्रतिशतमा मन्दिर परिसरमा ढुंगा विछ्याउने काम सम्पन्न गरिएको बताउनुभयो ।

सूर्यविनायक मठ मन्दिरको क्षेत्र भएकाले पर्यटकहरु भित्राएर आर्यआर्जनको स्रोत बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्दिर देशकै गहना भएको बताउनुहुँदै यसलाई अगाडि बढाउनका लागि स्थानीय सरकारले खेल्नुपर्ने भूमिका खेल्न कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ३८ दिन सम्म चलेको मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले मेलाले मन्दिर नजिक बस्ने नगरबासीहरुको स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गरि आर्थिक विकासमा मद्दत पुर्याएको बताउनुभयो ।

मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेला अवधिभर मन्दिर आउने भक्तजनले दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ संकलन भएको बताउनुभयो ।

संकलीत रकममध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरुले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट संकलन भएको बताउनुभयो । सो अवधिमा पण्डाल निर्माण, खाना आदिमा १२ लाख ३६ हजार रुपैयाँ खर्च भएको बताउनुभयो ।

वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले स्वयंसेवक, स्वास्थ्यकर्मी साथै सबैको सहयोगले नै मेला भव्य रुपमा सम्पन्न भएको बताउँदै मेलाकै अवसरमा आयोजित रक्तदान शिविरमा ५०० जना भन्दा धेरैले रक्तदान गरेको जानकारी दिनुभयो ।

मेला समापन कार्यक्रममा नगर प्रमुख बासुदेव थापाको धर्मपत्नी अम्बिका थापा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु र भक्तजनहरुको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न दानदाताहरुलाई सम्मान समेत गरिएको थियो ।







