सूर्यविनायक नगरका वडा वडामा विविध कार्यक्रम गरि मनाइयो ६० औँ राष्ट्रिय बाल दिवस (फोटोफिचर)

कटुञ्जे: सूर्यविनायक नगरपालिकाका वडा वडामा विविध कार्यक्रमको आयोजना गरि ६० औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ शनिबार बाल दिवस मनाइएको हो ।

नेपालमा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । २०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

सूर्यविनायक नगरपालिकाका नगर प्रवक्ता रविन्द्र सापकोटाले सामाजीक विकास समितिले एक साता अघि नै बैठक बसी वडा वडामा बाल दिवस मनाउन सर्कुलर गरिएअनुसार विविध कार्यक्रमको आयोजना गरि मनाइएको बताउनुभयो ।

शनिबार वडा नंं १ मा बाल अधिकार, बाल मैत्री नगर विषयमा बालबालिकाको प्यानल डिसकस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराई र वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थले बालअधिकारको विषयमा बोल्नु भएको थियो ।

वडा नंं २ र ३ मा प्रभातफेरी गरि बाल दिवस मनाइएको छ । वडा नंं २ मा आयोजित कार्यक्रममा नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराई र वडाध्यक्ष प्रदिप कार्कीले सम्बोधन गर्नु भएको थियो भने वडा नंं ३ मा वडाध्यक्ष दिपेन्द्र केसीसहित कार्यपालिका सदस्य हेमा खतिवडा दाहाललगायले सम्बोधन गर्नु भएको थियो ।

त्यस्तै, वडा नंं ५ मा प्रभातफेरि गरि बाल दिवस मनाइएको छ । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष मनोज थापा, कार्यपालिका सदस्य कमला पोखरेलसहित वडाका जनप्रतिनिधि, शिक्षक शिक्षीका, बालबालीकाहरुको भब्य सहभागिता थियो ।

यता वडा नंं ६ मा बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष ईश्वर खडकाले जानकारी दिनुभयो । वडा नंं ७ मा बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरि मनाइएको छ ।

त्यस्तैगरि, वडा नंं ८ मा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि मनाइएको छ । कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत र कार्यपालिका सदस्य सावित्रा मिश्रलगायले सम्बोधन गर्नु भएको थियो ।

यता वडा नंं ९ मा भने अभिमूखीकरण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा वडाध्यक्ष भगवान खत्रीले सम्बोधन गर्नुभएको थियो ।

वडा नंं १० मा प्रभातफेरि गर्दै बाल दिवस मनाइएको छ । प्रभातफेरि पछि कार्यक्रमलाई नगर प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा र वडा नं १० वडाध्यक्ष शिवराम रावतले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रम कार्यपालिका सदस्य तथा वडास्तरीय बाल अधिकार समिति संयोजक शर्मीला लम्साल बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।