
बालकोट: भारतीय राजदूतावासको सहयोगमा निर्मित सूर्यविनायक नगरपालिका वडा नंं २ बालकोट स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन हस्तान्तरण भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै निर्मित भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो । निर्मित भवनको भक्तपुर क्षेत्र नंं २ का संघीय सांसद दुलर्भ थापा र भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिका नगर उपप्रमुख सरिता भट्टराई, सूर्यविनायक नगरपालिका वडा नंं २ का वडाध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्की र वडा नंं ३ का वडाध्यक्ष दिपेन्द्र केसीलगायत विभिन्न क्षेत्रका ब्यक्तीहरु पनि सहभागि हुनुहुन्थ्यो ।

सांसद थापाले भवन निर्माणसँगै विद्यार्थीहरुलाई पठनपाठनमा सहज पुग्ने बताउनुहुँदै विद्यालयको शैक्षीक गुणस्तर बृद्धि गराउन यसले महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर उपप्रमुख भट्टराईले विद्यालय विगतदेखि नै अग्रस्थानमा रहँदै आएको र अझ राम्रो बनाउनका लागि पूर्व विद्यार्थी तथा अग्रजहरुले योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

भवन निर्माणसँगै विद्यार्थी तथा शिक्षकहरुको क्षमता विकास र स्तारोन्नतिको लागि नगरपालिका प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक, विद्यार्थी, स्थानीय बृद्धिजीवी तथा गन्य मान्य ब्यक्तीहरुको सहभागिता रहेको थियो ।







