सूर्यविनायक नगरपालिकामा मनाइयो राष्ट्रिय शिक्षा दिवस-२०८१, उत्कृष्ठ विद्यालय र विद्यार्थीलाई सम्मान

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले ‘ज्ञान, बिज्ञान, सीप, उद्यम मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ मनाएको छ ।

नगरपालिकाको प्रागंणमा बुधबार आयोजित कार्यक्रम नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा उत्कृष्ठ विद्यालय तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

नगर प्रमुख थापाले कार्यक्रममा ९ वटा विद्यालयका ११ जना विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो । एसइईमा उत्कृष्ठ नतिजा ल्याउने सामुदायिक तर्फ वडा नंं २ स्थित महेन्द्र शान्ति माविका उदयराम जैसी, वडा नंं ४ स्थित अरनिको माविकी निर्लजा सतशंकर, संस्थागततर्फ वडा नंं ५ स्थित युनिटी ई स्कुलकी आशिष थापा क्षेत्री, वडा नंं ४ स्थित मोर्डन बोडिङ ई स्कुलका बुपिना माकजु, वडा नंं ७ स्थित हिमाल एकेडेमीका विपिना मिश्र, वडा नंं ५ स्थित मनोरम ई स्कुल प्रनिशा बखुन्छे पुरस्कृत भएका हुन् ।

त्यस्तै, कक्षा ८ मा उत्कृष्ठ नतिजा ल्याउने संस्थागत तर्फ वडा नंं ७ स्थित ज्योति माध्यमिक विद्यालयकी सदा खुलीमुली, वडा नंं १ स्थित सिरुटार माध्यमिक विद्यालयका विकल खत्री, संस्थागत तर्फ वडा नंं ४ स्थित मोर्डन ई स्कूल सोहम श्रेष्ठ र सुदेश ढुगांना तथा वडा नंं २ स्थित माउन्ट भ्यू ई स्कुलकी लक्ष्मी तामाङ पुरस्कृत भएका हुन् ।

सोही अवसरमा संस्थागत र सामुदायिक विद्यालयहरुको तहगत सहभागिता गराई आयोजना गरिएको आधारभूत तह कक्षा १ देखि ५ स्तरीय चित्रकला प्रतियोगिताका विजेताहरुलाई पुस्कृत समेत गरिएको छ ।

चित्रकला प्रतियोगितामा प्रथम हुनेमा युनिक ई स्कूलका नियोग राई, द्धितीय हुनेमा दधिकोट ई स्कुलका निशान तामाङ, तृतीय हुनेमा देउजा गाउँ आधारभूत विद्यालयकी जेनीशा राई र सान्त्वना हुनेमा इडेल ई स्कुलका प्रिन्स गुरुङलाई नगदसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै, सामुदायिक विद्यालयतर्फ सहभागि शत प्रतिशत विद्यार्थी गराई उत्कृष्ठ नतिजा ल्याउन सफल सिरुटार माविलाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख थापाले नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गराउन आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा शिक्षा क्षेत्रको विकासमा गर्नुपर्ने कुनै पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख रत्न बहादुर कटुवाल, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले बोल्नु भएको थियो ।

कार्यक्रममा सुर्वणेश्वर स्काउटको तर्फबाट मार्चपास गरिएको थियो भने सिरुटार माध्यमीक विद्यालयका विद्यार्थीहरुले साकेला नृत्य र युनिटी ई स्कूलका विद्यार्थीहरुले तामाङ सेलो प्रस्तुत गरेका थिए ।