सूर्यविनायकमा प्रभातफेरि तथा वृद्धवृद्धालाई सम्मान गरि मनाइयो ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस (वडागत रिपोर्टसहित)

कटुञ्जे : सूर्यविनायक नगरपालिकामा ३४ औंँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतिको सवलीकरण’ भन्ने मूल नाराका साथ सूर्यविनायकका वडा वडामा विविध कार्यक्रमको आयोजना गरि मनाइएको हो । ज्येष्ठ नागरिक दिवसको अवसरमा कतै प्रभातफेरि त कतै शुभकामना तथा वृद्धवृद्धालाई सम्मान गरिएको छ ।

वडा नंं १ मा बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ्य परिक्षण

वड नंं १ मा ज्येष्ठ नागरिक दिवसको अवसरमा सिरुटार स्वास्थ्य चौकीबाट बृद्धबृद्धाहरुको निःशुल्क ल्याब तथा स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख तथा ज्येष्ठ नागरिक समिति संयोजक सरिता तिमसिना भट्टराई र वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थलगायत जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

वडा नंं २ मा गोष्ठी तथा ज्येष्ठ नागरिक सम्मान

वडा नंं २ मा जेष्ठ नागरिक सम्बन्धी गोष्ठी एवम सम्मान कार्यक्रम आयोजना गरि मनाइएको छ । सो अवसरमा स्थानीय ९६ वर्षीय टेकनाथ भण्डारी र ९७ वर्षीय रामप्रिया पौडेललाई पोषण खानेकुरा सहित लौरो प्रदान गरि सम्मान गरिएको हो ।

वडाध्यक्ष प्रदिप कार्कीले बृद्धबृद्धाहरुलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न जेष्ठ नागरिकहरुले आफुलाई परेको समस्या र सुविधाको बिषयमा तथ्यांक राख्नु पर्ने, स्वास्थ्यमा सहजीकरण हुनु पर्ने, बिमाबाट महँगो औषधी पनि दिन पर्नेे, अस्पतालमा लाईनमा धेरै बस्न पर्ने, बिमा निशुल्क गर्नु पर्ने, जेष्ठ नागिरक दिवा सेवा केन्द्रको लागि भवन निर्माण गर्नु पर्ने लगायत माग गर्नु भएको थियो ।

वडा नंं ३ मा सम्मान तथा नसर्ने रोगको स्क्रिनिङ शिवीर

ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा नंं ३ सबैभन्दा ज्येष्ठ नागरिक दुई जनालाई फलफुल सहित दोसल्ला ओठाएर सम्मान गरिएको छ। साथै नसर्ने रोगको स्क्रिनिङ शिवीर आयोजना गरिएको छ । शिवीरमा ३० जना जेष्ठ नागरिकहरूले सेवा लिएको कार्यवाहक वडाध्यक्ष जनक भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य हेमा दाहाल खतिवडालगायत जनप्रतिनिधिहरु पनि सहभागि हुनुहुन्थ्यो ।

वडा नं ४ मा वृद्धवृद्धालाई सम्मान

ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा नं ४ मा वृद्धवृद्धालाई सम्मान गरिएको छ ।

५५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा वडाध्यक्ष लछुराम न्यौपानेले वडाका जेष्ठ नागरिक मध्येबाट पुरूषमा ९७ बर्षीय गंगा बहादुर शाह र महिलामा ९६ वर्षीय सानू न्यौपानेलाई दोशल्ला, खादा, टीकासहित सम्मान पत्र दिएर सम्मान गर्नु भएको थियो ।

ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक राम गोपाल न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य उज्वल राजथला, महिला सदस्य पम्फा परियार, दामोदर न्यौपाने लगायतले जेष्ठ नागरिकले समाज र मुलुक निर्माणमा पुर्याएको योगदानको चर्चा गर्नु भएको ।

वडा नंं ५ मा भेटघाट तथा शुभकामना कार्यक्रम

वडा नंं ५ ले ज्येष्ठ नागरिक दिवसको अवसरमा भेटघाट तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

ओम शान्ति टोलमा आयोजित कार्यक्रममा बृद्धबृद्धाहरुलाई खादा, टोपी र दोसल्लाले सम्मान गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष राजकुमार जोशी, कार्यपालिका सदस्य कमला पोखरेलसहित जनप्रतिनिधिहरु र वृद्धवृद्धाहरुको सहभागिता थियो ।

वडा नंं ६ मा स्वास्थ्य शिवीर

३४ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडा नंं ६ मा बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष ईश्वर खडकाले जानकारी दिनुभयो ।

वडा नंं ७ मा प्रभातफेरि

ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा नंं ७ मा पदयात्रा गरि मनाइएको छ । वडाध्यक्ष रविन्द्र सापकोटासहित जनप्रतिनिधिहरुको सहभागितामा बाजागाजासहित प्रभातफेरि गरि ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।

वडा नंं ८ मा भेटघाट कार्यक्रम

वडा नम्बर ८ मा जेष्ठ नागरिक दिवसको अवसरमा बृद्धबृद्धाहरुसँग भेटघाट र अनुभव साटासाट गरिएको छ । कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत र वडास्तरीय ज्येष्ठ नागरिक संयोजक सावित्रा मिश्रसहित जनप्रतिनिधिहरुको सहभागिता मनाइएको हो ।

वडा नंं ९ मा भेटघाट तथा शुभकामना कार्यक्रम

ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा नंं ९ मा भेटघाट तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ । सोही अवसरमा बृद्धबृद्धाहरुलाई गुल्कोज र जुस वितरण गरिएको छ । वडाध्यक्ष भगवान खत्रीले ज्येष्ठ नागरिकहरुको गुल्कोज र जुस वितरण गर्नु भएको थियो ।

वडा नंं १० मा भेटघाट तथा स्वास्थ्य परिक्षण

वडा नंं १० मा भेटघाट तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ । साथै जेष्ठ नागरिकहरुको चित्तपोल स्वास्थ्य चौकीबाट निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको छ भने जुस र गुल्कोज वितरण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समिति संयोजक शर्मिला लम्साल बस्नेतको सभापतीत्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष शिवराम रावतलगायत जनप्रतिनिधिहरुको सहभागिता थियो ।