सूर्यविनायक नगरपालिकाद्धारा पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख हस्तान्तरण

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले गत शनिबार पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई १ लाख रुपैयाँका दरले राहत सहयोग गरेको छ ।

गत साता परेको अवीरल वर्षाबाट आएको पहिरोमा परि निधन भएका सूर्यबिनायक नगरपालिका वडा नंं ८ स्थित नैचाल आशापुरीका स्वर्गीय सुकुमाया तामाङ तथा स्वर्गीय प्रतिमा तामाङका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख बासुदेब थापा र उपप्रमुख सरिता भट्टराई तथा जनप्रतिनिधीको उपस्थितिमा जनही एक लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

यसअघि नगर प्रमुख थापाको नेतृत्वको उपप्रमुख भट्टराई, वडा नं १ देखि १० सम्मका वडाध्यक्षहरू तथा प्राविधिकसहितको टोलीले नगर क्षेत्रभित्रका बाढी, पहिरोका विपद्ग्रस्त क्षेत्रको अध्ययन अनुगमनपछि नगरपालिकामा बसेको कार्यपालिका बैठकले मृतकका परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, राहत तथा पुर्नस्थापनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको थियो ।

सूर्यविनायकमा बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा नोक्सानी पुर्याएको छ । नगर प्रमुख थापाले क्षतिको विवरण संकलन भइसकेकाले बाढी पहिरो पीडितलाई राहत तथा पुर्नस्थापनाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र माथिल्लो निकायसँग पनि समन्वय तथा पहल भइरहेको बताउनु भयो ।

त्यस्तै, जिल्ला विपद व्यवस्थापन समिति संंयोजक तथा भक्तपुरको, प्रमुख जिल्ला अधिकारी रोसनी श्रेष्ठसहित सुरक्षा निकायका प्रतिनिधी तथा जनप्रतिनिधीले पनि मृतकका परिवारलाई राहत उपलब्ध गराउनु भएको छ ।