सूर्यविनायकमा बालमैत्री स्थानीय शासन अभियानलाई तीब्र गतिमा अगाडि बढाइँदै, निर्धारित समय अगावै घोषणा गरिसक्ने सामूहिक प्रतिबद्धता

कटुञ्जे । सूर्यविनायक नगरपालिकाले ‘सुदृढ, सक्षम, जवाफदेही, स्थानीय शासनयुक्त नगर’ निर्माणका लागि बालमैत्री स्थानीय शासन अभियानलाई तीब्र गतिमा अगाडि बढाएको छ ।

नगरपालिकाले नगरदेखि वडागत रुपमै कार्ययोजना निर्माण गरि अभियानलाई तीब्र रुपमा अगाडि बढाएको हो । आगामी २०८३ जेठसम्म घोषणा गर्ने उद्देश्यका साथ अगाडि बढेको नगरपालिकाले समयसीमा अगावै अभियानलाई सार्थकता दिने प्रतिबद्धता जनाएको छ ।

सोही क्रममा शुक्रबार बालमैत्री स्थानीय शासन अभियानमा नीतिगत कर्तब्य वोध तथा आगामी कार्य दिशा निर्देश सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । एक वर्षको कार्यप्रगति र समिक्षासहितको कार्यक्रममा नगर प्रमुख तथा कार्यक्रमका सभापती बासुदेव थापाले अभियानलाई सार्थकर्ता दिन प्रतिबद्ध रहेको बताउनुभयो ।

नगर प्रमुख थापाले अहिलेका बालबालीका भविष्यका कर्णादार भएकाले नगरपालिकाले बालबालीकाको क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा पनि आवश्यक साथ सहयोग गर्ने बताउनुभयो ।

नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले बालमैत्री नगर निर्माणका लागि वडागत रुपमा छलफल गरेर कार्यायोजना निर्माण गरिएको र हालसम्मको प्रगति के कति भयो र आगामी कार्यदिशा कसरी तय गर्न सकिन्छ भनेर समिक्षा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उपप्रमुख भट्टराईले नगरपालिकालाई फरक हिसावले चिनाउने, उत्कृष्ठ र नमूना बनाउने उद्देश्यका साथ मानवीय विकासमा लागिपरेको बताउनुभयो । विकास निर्माण जस्तै बालबालीकाको क्षेत्रमा वडागत रुपमै प्राथमिकता दिएर कार्ययोजना निर्माण गरि कार्यतालिका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले अभियानको क्रममा धेरै कार्य भए पनि अभिलेखीकरण गर्ने कार्य नहुँदा सूचक पूरा भएको नदेखिएको बताउनुभयो ।

प्रत्येक सूचकलाई क्रमशः कार्यान्वयन गर्दै जानुपर्नेमा उहाँको जोड छ । उहाँले मिहेनत गरेमा निर्धारित समयआगवै घोषणा गर्न सकिने पनि बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता रविन्द्र सापकोटाले अभियानलाई सार्थकता दिन वडा वडामा विभिन्न कार्यक्रमहरु ब्यापक रुपमा भइरहेको बताउनुहुँदै घोषणाका लागि आवश्यक सूचक पूरा गर्न लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले अभियानको क्रममा पूरा गर्नुपर्ने सूचक र खेल्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, १ देखि १० वटै वडाका वडाध्यक्ष तथा वडा सचिवहरु, कार्यपालिका सदस्यहरुसहित जनप्रतिनिधिहरु, स्थानिय बाल अधिकार समितिका प्रतिनिधिहरु, नगर बाल सञ्जाल र वडा बाल क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सोही क्रममा पूर्व निर्धारित समयअगावै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने सामूहिक संकल्पका सार्थ सामूहिक रुपमा हस्ताक्षर समेत गरिएको छ ।