कटुञ्जे । सूर्यविनायक नगरपालिकाले नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन बृहत्त खानेपानी योजनाको कामलाई तीब्र गतिमा अगाडि बढाएको छ । नगरपालिकाका १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि अगाडि बढाइएको बृहत्त खानेपानी आयोजनाको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न नगरपालिका लागिपरेको हो ।
गत २०७९ चैतमा सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति भएको थियो । सोही सहमतिअनुसार नगरपालिकाले ८ करोड बजेट विनियोजन गरेर पानी वितरणको लागि आवश्यक कार्य अगाडि बढाइरहेको हो ।
नगरपालिकाले पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डोबजारको मेलम्ची खानेपानी संकलन रिजर्भ टं«याकीबाट पाण्डोबजार बासीलाई खानेपानी वितरण गरिरहेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि दोस्रो चरण अन्तर्गत लिफ्टीङ गरेर सुवर्णेश्वर खानेपानी ट्रयाकीमा पानी राखी १ देखि ६ सम्मका वडाका ट्याकीमा पानी खसालेर खानेपानी वितरण गरिनेछ ।
सम्झौता अनुसार पाण्डोबजारबाट चार ईन्च अर्थात दैनीक कम्तिमा २० लाख लिटर पानी पठाइनेछ । नगरपालिकामा हालसम्म २१ हजार घरधुरीमा खानेपानी सुविधा प्राप्त हुदैं आएको छ । वडा नं १ देखि ६ सम्मका नागरिकहरुलाई मेलम्ची खानेपानीको सुविधासहित कम्तिमा ९५ प्रतिशत घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था हुनेछ ।
त्यस्तै, आयोजनाको निर्माण कार्य छिटो सम्पन्न गर्न बुधबार बडाबासीसँग नगरपालिकामा छलफल भएको छ । नगर प्रमुख तथा आयोजनाका संरक्षक बासुदेव थापाले नगरवासीको आधारभुत आवश्यकता खानेपानी भएकोले नगरपालिकाले यथेष्ट बजेट राखी पानी वितरण गर्ने कार्य अगाडि बढाइरहेको बताउनुभयो ।
छलफलमा नगरपालिका उपप्रमुख तथा नगरपालिकाको तर्फबाट खानेपानी संयोजक सरिता तिमल्सिना भट्टराईले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सरोकार निकायहरु सँग आवश्यक समन्वय, सहकार्य गरि यथासक्य पानी वितरण गर्न लागिएको बताउनुभयो ।
नगर प्रवक्ता रविन्द्र सापकोटाले जनजिवनका लागि अत्यावश्यक क्षेत्र भएकोले नागरिकलाई सहि तरिकाले खानेपानी वितरण गर्ने प्रकृयाका लागि नगरपालिका अन्तर्गतका सवै खानेपानी उपभोक्ता समिती तथा ढल उपभोक्ता समिति नगरपालिकामा अनिवार्य सुचिकृत हुन पर्ने र समितिले लिने महसुलको बारेमा नगरपालिकावाट स्विकृति लिन पर्नेमा जोड दिनुभयो ।
पूर्वाधार शाखा प्रमुख ईन्जिनियर जनक न्यौपानेले जनप्रतिनिधिहरुको महत्वपुर्ण योजनामा खानेपानी रहेकोले यो आयोजनाको प्राविधिक रुपमा मसिनो गरि हेरि रहेका बताउनुहुँदै यथाशीघ्र काम सकाउन प्रावधिक टिम लागिरहेको बताउनुभयो ।
केयुकेए भक्तपुरका ई अनिल त्रिखत्रीले जनप्रतिनिधिहरुले नागरिकका लागि पानी खुवाउने सकारात्मक उर्जा देखेर कार्यालयले पानी वितरणका लागि सूर्यविनायक नगरपालिका सग सम्झौता गरेर छिटो भन्दा छिटो मेलम्ची पानी वितरण गर्न तयार रहेको बताउनुभयो ।
छलफलमा निर्माण ब्यवसायीको अलमलका कारण आयोजना सम्पन्न गर्न ढिलाई भएकोप्रति समेत चासो ब्यक्त गरिएको थियो ।