सूर्यविनायक नगर सभाको सत्रौ अधिवेशन सम्पन्न, विभिन्न ऐन र विषयगत समितिका प्रतिवेदन सर्वसम्मत पारित

भक्तपुर: सूर्यविनायक नगर सभाको सत्रौ हिउँदे अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।

नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा शुक्रबार बसेको सभा अर्ध वार्षिक समीक्षा, विभिन्न विषयगत समितिका प्रतिवेदन, केहि ऐन निर्माण र केहि संशोधन गर्दै भब्यताका साथ सम्पन्न भएको हो ।

सूर्यविनायकमा नगर प्रमुख थापाको नेतृत्वमा सम्पन्न सत्रौ अधिवेशनसम्म आइपुग्दा अहिलेसम्मका सबै अधिवेशनदेखि हरेक निर्णयहरु सर्वसम्मत रुपमा पारित हुँदै आएको छ ।

नगर प्रमुख थापाले ‘राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्र्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढेकै कारण सिंगो जनप्रतिनिधि एकढिक्का भई हरेक निर्णयहरु सर्वसम्मत गर्न सफल भएको र विकास निर्माणमा अगाडि बढ्न सहयोग पुगेको बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको सत्रौ अधिवेशनसम्म सर्वसम्मत निर्णय गर्न सहयोग गर्ने नगरबासी, जनप्रतिनिधिहरु तथा सबै तह तप्काका निकायहरुप्रति आभार समेत प्रकट गर्नुभयो ।

हिउँदे अधिवेशनले विशेषत: नयाँ कानुन निर्माण, संशोधन तथा खारेज गर्ने जस्ता कार्य गर्दछ । सभामा तीन वटा ऐन प्रस्तुत गरिएको थियो । सभाले आर्थिक कार्याविधि ब्यवस्थापन गर्ने नयाँ ऐन निर्माण गरेको छ ।

त्यस्तै, दुई वटा ऐन संशोधन विधेयकका रुपमा प्रस्ताव गरिएको थियो । सभाबाट सूर्यविनायक नगरपालिकाको आर्थिक ऐन २०८१ को संशोधीत ऐन पारित गरिएको छ । सो ऐन नगरपालिकाको वर्षभरि लिने करका दरमा हेरफेर गर्नुपर्ने हुँदा संशोधन गरिएको सभाका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले बताउनुभयो ।

सभामा नगरपालिकाको संस्था दर्ता ऐन २०७९ को संशोधन ऐनलाई समेत प्रस्तुत गरिएको थियो । यो ऐन पहिलो पटक संशोधन गरिएको हो । सो ऐन समेत सर्वसम्मत पारित भएको छ ।

त्यस्तै, स्थानीय सरकार संचालन ऐन, प्रदेशको स्थानीय सेवा संचालन ऐन, संविधानले दिएको अधिकार बमोजीम नगरपालिका र मातहतका निकायहरुको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन पनि पारित गरिएको सदस्य सचिव लुइटेलले जानकारी गराउनुभयो ।

सभामा १० वटा समितिका प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा नगर उपप्रमुख एवं राजस्व परामर्श तथा न्यायिक समितिको तर्फबाट संयोजक सरिता तिमसिना भट्टराई, विधायन समितिका संयोजक प्रदीप कार्की, सार्वजनिक लेखा समितिका संयोजक राजकुमार जोशी, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेत, पूर्वाधार विकास समितिका संयोजक शिवराम राउत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भगवान खत्री र सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक सानुकाजी कायस्थले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।