प्रधानमन्त्री ओलीद्धारा सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन, नगरबासीलाई प्रभावकारी, छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह हुने विश्वास

कटुञ्जे: एक भब्य समारोहकाबीच सूर्यविनायक नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नंं ५ मा अवस्थित कटुञ्जेमा नवनिर्मित भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले बालबस्तुगत पुस्तक समेत विमोचन गर्नुभयो ।

भवन उद्घाटन पछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नयाँ भवनबाट सेवा शुभारम्भ भएसँगै नगरबासीलाई प्रभावकारी, छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले भवन सेवाका लागि भएको बताउनुहुँदै भन्नुभयो, ‘आगामी विकासका योजना तयार गर्न, कार्यान्वयन गर्न, उपलब्धीको संरक्षण गर्न र थप उपलब्धीतर्फ अगाडि बढ्न योजनाबद्ध र संगठीत प्रयासका लागि भवन चाहिएको हो । त्यसैअनुसार यस भवनले काम गर्ने कुरामा कुनै दुविधा छैन । विश्वास गर्न सकिन्छ । यस उपलब्धीको लागि नगरपालिकाका सम्पूर्णबासिन्दालाई बधाई दिन चाहान्छु ।’

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरु एकताबद्ध भएर विकास निर्माणमा होमिनुपर्नेमा जोड समेत दिनुभयो ।

नगर प्रमुख बासुदेव थापाले २०७६ साल पुष २५ गते आफैबाट शिलान्यास गरि निर्माण शुरु गरिएको भवन कोरोना महामारी र प्राविधिक कारणबाट केहि ढिलाई भए लागत भने नबढेको बताउनुभयो । प्रमुख थापाले भवन २० करोड ४१ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको र १८ करोड रकम नगरपालिकाको आफ्नै स्रोतबाट राखिएको बताउनुहुँदै सेवा प्रवाहलाई नागरिकमैत्री, प्रभावकारी र सहज ढंगले अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो ।

नगर प्रमुख थापाका अनुसार भवन ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको छ । कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आनामा बनेको छ । नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको छ ।

भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै, ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको नगर प्रमुख थापाले बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै संघीय सांसद दुर्लभ थापाले नयाँ भवनबाट सेवा प्रारम्भ हुनु नगरबासीको लागि अत्यन्तै खुसीको कुरा भएको र भवनजस्तै जनताले सहज रुपमा आधारभूत अधिकार, सेवा र सुविधा पाउने विश्वास ब्यक्त गर्नुभयो ।

पूर्वमन्त्री महेश बस्नेतले नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछिको पछिल्लो सात वर्षमा विकासमा फड्को मार्न सफल भएको बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले अध्यारो र साँघुरो कोठाबाट शूरु भएको सूर्यविनायक नगरपालिका सुविधासम्पन्न भवनमा सरेसँगै सेवा प्रवाह मात्र नभई नगरलाई अझ ब्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उपत्यकाका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफ्नै भवनबाट सेवा प्रवाह भएकोमा बधाई दिनुहुँदै भवनको सौन्दर्य र नियमीत सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले प्रशासनीक भवन सूर्यविनायकको सिंहदरबारको रुपमा उभिएको बताउनुहुँदै जनप्रतिनिधिले जनताको पक्षमा काम गर्दै आएकोमा आगामी दिनमा पनि जनताको हक हित र अधिकार रक्षा गर्न सफलता मिलोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापती निशान ढुंगेलले नयाँ भवनबाट नगरबासीलाई प्रभावकारी रुपमा सेवा प्रवाह हुने विश्वास ब्यक्त गर्नुभयो ।

नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले नयाँ भवन उद्घाटनसँगै समग्र सूर्यविनायकको विकासको अध्यायन प्रारम्भ भएको बताउनुभयो ।

कार्यक्रममा स्काउटको तर्फबाट मार्चपार्स र विभिन्न साँस्कृतिक प्रस्तुत समेत गरिएको थियो । सोही अवसरमा भवन निर्माण गर्ने बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनी र नगरपालिकाका प्राविधिक शाखा प्रमुख जनक न्यौपानेलाई सम्मान गरिएको थियो । साथै नगर गान रचनाकारहरु तथा नगर स्काउट आयुक्त कृष्मा थोकरलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नगरपालिकाका नगर प्रवक्ता रविन्द्र सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्कीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, बृद्धिजीवी, संञ्चारकर्मी तथा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।