
कटुञ्जे: सूर्यविनायक नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियानलाई सफल बनाउन तयारी तीब्र पारेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले वडागत रुपमा खोप समितिको बैठक बसी स्वास्थ्यकर्मी तथा स्वयंसेवीकाहरुलाई तालिम प्रदान गरिरहेको हो ।
एचपिभी खोप अभियान माघ २२ गते देखि फागुन ६ गतेसम्म देशैभर सञ्चालन संचालन हुँदैछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई यो खोप दिईंदैछ ।
स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाइँका अनुसार स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्ने कार्य सम्पन्न भइसकेको छ भने वडास्तरमा खोप समितिको बैठक बसी अभिमूखीकरण तथा सचेतना कार्यक्रम जारी राखिएको छ ।

नगरपालिकामा ४ हजार १६२ जना किशोरीलाई खोप लगाइने तयारी छ । विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका ३ हजार ८३४ जना किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका ३२८ जना किशोरीलाई खोप लगाइनेछ ।
खोप अभियानलाई सफल बनाउन नगरका ६५ वटा विद्यालय र विद्यालय बाहिर ११ वटा खोप केन्द्र तोकिएको छ भने खोप केन्द्रमा ७१ जना नै स्वास्थ्यकर्मी र १ सय ४२ जना स्वयंसेवक परिचालन गरिएको छ ।
खोप अभियानलाई सफल बनाउन नगर प्रमख बासुदेव थापाको संयोजकत्वमा नगरस्तरीय खोप समन्वय समिति र वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय खोप समिति रहेको छ । समितिमार्फत खोप सम्बन्धी आवश्यक तयारी गर्ने कार्य भइरहेको छ ।
तालिममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल र नगर प्रवक्ता रविन्द्र सापकोटाले कोहि पनि किशोरी नछुट्ने गरि अभियान सफल बनाउन सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनु भयो ।
पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ । चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ ।