सूर्यविनायकमा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोपको तयारी पूरा, मंगलबार अरनिको विद्यालयबाट अभियानको शुभारम्भ गरिने

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोपको तयारी पूरा भएको जनाएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाको अध्यक्षतामा सोमबार नगर अस्पतालमा बसेको खोप समितिको बैठकमा तयारी पूरा भएको जनाइएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले खोप अभियान सफल र प्रभावकारी बनाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । खोप अभियान सफल बनाउनु प्रत्येक नागिरकको दायित्व भएको बताउनुहुँदै नगर प्रमुख थापाले लक्षित वर्गका सबै किशोरीहरुलाई अनीवार्य रुपमा खोप लिन पनि आग्रह गर्नुभयो ।

त्यस्तै, अभियानको २२ गते बिहान १०ः३० बजे नगर प्रमुख बासुदेव थापाले अरनीको माध्यमिक बिद्यालयबाट शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ ।

एचपिभी खोप अभियान माघ २२ गते मंगलबारदेखि फागुन ६ गतेसम्म देशैभर सञ्चालन संचालन हुँदैछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई यो खोप दिईंदैछ ।

स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाइँका अनुसार नगरपालिकामा ४ हजार १६२ जना किशोरीलाई खोप लगाइँदै छ । विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका ३ हजार ८३४ जना किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका ३२८ जना किशोरीलाई खोप लगाइनेछ ।

खोप अभियानलाई सफल बनाउन नगरका ६५ वटा विद्यालय र विद्यालय बाहिर ११ वटा खोप केन्द्र तोकिएको छ भने खोप केन्द्रमा ७१ जना नै स्वास्थ्यकर्मी र १ सय ४२ जना स्वयंसेवक परिचालन गरिएको छ ।

बैठकमा नगररपालिकाका नगर उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटा, सूर्यविनायक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्मा, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।