सूर्यविनायक नगरपालिकाले मनायो नवौं स्थापना दिवस, विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धीहरु हासिल गर्दै प्रगतिको मार्गमा अघि बढिरहेको मेयर थापाको भनाई

कटुञ्जे । सूर्यविनायक नगरपालिकाले नवौ स्थापना दिवस मनाएको छ । नगरपालिकाको सभाहलमा मंगलबार एक कार्यक्रम आयोजना गरि नगर प्रमुख बासुदेव थापाले केक काटेर स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा नगर प्रमुख थापासहित उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु, शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख थापाले स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुहुँदै नगरपालिकाले सामाजिक, आर्थिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै निरन्तर प्रगतिको मार्गमा अघि बढ्दै गएको बताउनुभयो ।

नगरवासीहरूको सहयोग, एकता र सहकार्यले समृद्ध, व्यवस्थित र आधुनिक सूर्यविनायक निर्माण गर्ने प्रेरणा मिल्ने समेत मेयर थापाले विश्वास ब्यक्त गर्नुभयो ।

नगर प्रमुख थापाले नगरपालिकामा नेतृत्व समालेको आठ वर्ष बित्नै लाग्दा अहिलेसम्म नगर सभाको सत्रौ अधिवेशन सम्पन्न भइसकेको र यो अवधिसम्म आइपुग्दा सबै अधिवेशनदेखि हरेक निर्णयहरु सर्वसम्मत रुपमा पारित गर्दै राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्धता भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि विकास निर्माणमा फड्को मार्न सफल भएको बताउनुनुहुँदै मेयर थापाले अधुरा योजना पूरा गर्ने कार्यमा सिंगो टिम एकढिक्का भएर लागिपरेको बताउनुभयो ।