
कटुञ्जे: सूर्यविनायक नगरपालिकामा तीन महिने साङ्केतिक (दोभाषे) भाषा आधारभूत तालिम संचालन गरिएको छ ।

सुनाइ समस्या भएका व्यक्ति र दोभाषे भाषा सिक्न इच्छुक व्यक्तिहरूका लागि नगरपालिकाले तीन महिने साङ्केतिक भाषा आधारभूत तालिम संचालन गरेको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि तालिमको सूर्यविनायक नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर उपप्रमुख भट्टराईले सांकेतिक भाषा सिकेर व्यक्तिगत, सामाजिक, व्यावसायिक र सांस्कृतिक रूपमा धेरै उपलब्धिहरू हासिल गर्न सकिने, यसले नयाँ संचार माध्यममा दक्ष बनाउँन र बहिरा समुदायसँग प्रभावकारी रूपमा कुराकानी गर्न मद्दत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

उपप्रमुख भट्टराईले थप्दै भन्नुभयो, ‘सांकेतिक भाषा सिक्दा दिमागलाई नयाँ तरिकाले सोच्न र बुझ्न मद्दत गर्ने, हातका हावभाव, अनुहारको हावभाव र शारीरिक भाषाले समग्र संचार सीपमा सुधार गर्छ, यो सिकाईबाट सामाजिक उपलब्धिहरू पनि हुनेछ, समावेशी समाज निर्माण गर्न बहिरा समुदायसँग सम्पर्क राख्न सक्ने भएकाले समाजमा सबैलाई समान अवसर मिल्ने वातावरण बनाउन मद्दत हुन्छ।’
बहिरा समुदायसँग सम्बन्ध सुधार्न, उनीहरूसँग सहज रूपमा घुलमिल भई सम्बन्ध सुदृढ बनाउन सक्नुपर्नेमा जोड दिनुहुँदै यो सिकेर व्यावसायिक उपलब्धिहरू समेत हुने बताउनुभयो । साथै यसले गर्दा रोजगारीका अवसरहरू बढ्ने, संकेत भाषा जान्ने मानिसहरूलाई शिक्षक, दुभाषे, ग्राहक सेवा, चिकित्सा क्षेत्र, कानुनी क्षेत्र र सरकारी सेवामा प्राथमिकता दिइने गरिएको बताउनुहुँदै कुनै पनि व्यवसायमा हुनेले संकेत भाषा जानेपछि बहिरा ग्राहकहरूसँग सहज रूपमा संवाद गर्न सकिने भएकाले व्यवसायलाई फराकिलो बनाउने चर्चा गर्नुभयो ।

सांकेतिक भाषा सिक्नु व्यक्तिगत विकासका लागि मात्र नभई सामाजिक योगदान, रोजगारीका अवसर र बहिरा समुदायसँग जोडिन महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख रत्न बहादुर कट्टवालले पनि बोल्नु भएको थियो ।


