शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौ : मेयर बासुदेव थापा

कटुञ्जे : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नगरपालिकाले पछिल्लो समय शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनु भएको छ ।

पतञ्जली योग समिति नेपालको आयोजनामा भएको खुला उपत्यकाब्यापी नृत्य प्रतियोगिताको शनिबार उद्घाटन गर्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकाले पूर्वाधारको क्षेत्रमा निकै ठूलो फड्को मार्न सफल भएको बताउनुभयो ।

”आफ्नो पहिलो पाँच वर्षे कार्यकालमा भौतीक पूर्वाधारमा निकै ठूलो फड्को मार्न सफल भएका थियौ”, मेयर थापाले भन्नुभयो, ”दोस्रो कार्यकालमा विगतका अधुरा योजना पूरा गर्दै मानवीय विकासमा लागिपरेका छौ ।”

जनप्रतिनिधिहरु एकढिक्का भएर विकास निर्माण कार्यमा अगाडि बढाइरहेको मेयर थापाले बताउनुभयो । नगरपालिकामा नगर प्रमुख थापा निर्वाचति भएर आएदेखि हरेक निर्णयहरु सर्वसम्मत पारित हुँदै आएका छन् ।

उहाँले सबै वडालाई समानुपातीक रुपमा विकास गर्दै शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बढिरहेको बताउनुभयो । शैक्षीक क्षेत्रको विकास, विस्तार तथा उत्थानका लागि सक्दो प्रयास गर्दै आइरहेको पनि उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नगर अस्पतालमा सेवा विस्तार गर्ने कार्य अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज र सुलभ पहुँचको लागि बिशेषज्ञ सुविधा सहितको नगर अस्पतालको सेवा शूरुवात गरिएको बताउनुहुँदै मेयर थापाले नगरपालिकाले वडा नंं १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि बृहत्त खानेपानी आयोजना अगाडि बढाइरहेको र हाल सो आयोजना अन्तिम चरणमा पुगेको बताउनुभयो ।

नगरपालिकाको आफ्नै भवनबाट सेवा शुभारम्भ गरिएको र १० वटै वडाको आफ्नै भवन निर्माण हुने चरणमा रहेको पनि उहाँले बताउनुभयो । ‘दिगो विकास, ब्यवस्थित सहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नगरको दिर्घकालीन सोच हासिल गर्न अगाडि बढिरहेकाले अबको बाँकि कार्यकालमा पनि नगरबासीबाट सकारात्मक सल्लाह, सुझाव र प्रतिक्रिया पाउँने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमसिना भट्टराई, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थलगायत जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।

https://suryabinayakkhabar.com