
जगाती: सूर्यविनायक नगर अस्पतालमा अपरेसन थ्रिएटरको सेवा शुभारम्भ भएको छ । बिहीबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख तथा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष बासुदेव थापाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.राकेश कुमार बर्माको टोलीलाई आवश्यक उपकरण हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरिएको हो ।
डा.बर्मासहित तीन जनाको टोलीले पोस्टेटको एक जना बिरामीको सफल शल्यकृया समेत गर्न सफल भएको अस्पतालले जनाएको छ । सोही अवसरमा नगरपालिकाका नगर उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रसाशकीय अधिकृत तारानाथ लुइँटेल, नगर प्रवक्ता रविन्द्र सापकोटा, १० वटै वडाका वडाध्यक्षहरु र जनप्रतिनिधि तथा अस्पतालका कर्मचारीहरुको सहभागिता थियो ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले लामो समयको प्रयासपछि अपरेशन थ्रिएटरको सेवा संचालन गर्न पाएकोमा खुसी ब्यक्त गर्नुहुँदै अपरेशन सेवाको औपचारिक उद्घाटन भने नयाँ वर्षको पहिलो साता गर्ने गरि तयारी भइरहेको बताउनुभयो । अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई ब्यहोर्नु परेको स्मरण गर्नुहुँदै मेयर थापाले सेवा विस्तार गर्दै अस्पताललाई अझै ब्यवस्थित बनाउन लागिरहेको बताउनुभयो ।
अस्पताल स्थापनासँगै नगरबासीलाई उपचारमा १५ प्रतिशत छुटको ब्यवस्था गरिदैं आएको छ । मेयर थापाले नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको र विमा गर्नेलाई छुटको ब्यवस्था गरिरहेको बताउनुभयो ।

निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनीक २ सय ५० जनाको हाराहारीमा ओपीडीमा सेवा लिने गरेका छन् ।
अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् ।

नगर अस्पताल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । अस्पताल परिसर निकै सुन्दर र सफा छ भने वरिपरिको वातावरणले सबैलाई लोभ्याउँने गरेको छ ।