
कटुञ्जे: सूर्यविनायक नगरपालिकाले प्रभातफेरि गरि ६८ औं सहकारी दिवस भब्यताका साथ मनाएको छ ।

‘मर्यादीत सहकारी, समुनन्त समाज’ भन्ने मूल नाराका साथ नगरपालिकाले बुधबार प्रभावतफेरि गरि ६८ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा मनाएको हो ।

हजारौ सहकारीकर्मीहरुको सहभागितामा कटुञ्जेस्थित नगर कार्यापालिकाको कार्यालयबाट बाजागाजा, प्ले कार्ड सहित सृजनानगर, सल्लाघारी हुँदै नगरपालिका प्रांगणमा परिक्रमा गरिएको हो ।

नगरपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच नगर प्रमुख बासुदेव थापाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुले समन्वय गरेका थिए ।

सो अवरमा नगर प्रमुख थापाले सहकारी अर्थतन्त्रको एक बलियो खम्बाको रुपमा रहेको बताउँनुहुँदै सहकारी क्षेत्रलाई गतिशील र क्रियाशील बनाउँदै लग्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरि रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुहुँदै नगर प्रमुख थापाले सहकारीको कारोबारलाई जोखीममुक्त बनाउन सदस्यहरु नै चलाखो हुनुपर्ने बताउनुभयो ।

सहकारी संस्थाको साधारण सभा र संचालक समितिको बैठक नियमीत गरि सूचना प्रविधिको प्रयोग गरेर हरेक विषयको जानकारी सदस्यमार्फत पुर्याउँन पनि मेयर थापाले आग्रह गर्नुभयो ।

नगरका धेरै जसो सहकारीमा समस्या नरहेको पनि उहाँले बताउनुभयो ।

नगरपालिका नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले अब सहकारी संघ संस्थाहरुले नयाँ कोर्स शूरु गर्नुपर्ने बताउनुभयो ।

सहकारी संस्थाले जोखिम न्युनीकरण गर्दै सुदृढ बनाउँदै लग्नुपर्ने, सदस्यहरुलाई कृषि उत्पादन, बजारीकरण, उद्यम प्रबद्र्धन, पर्यटन घरेलु उत्पादन संग जोड्दै जानुपर्ने र स्थानीय पुँजी निर्माण गर्दै स्थानीय तहमै परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तथा रजिष्ट्रार तारानाथ लुइँटेलले देशभरका ३० हजार सहकारीमध्ये सूर्यविनायक नगरभित्र लगभग ३ प्रतिशतको हाराहारीमा रहेको बताउनुभयो ।

उहाँले १ खर्वको कुल शेयर पुँजीमा सूर्यविनायक नगरभित्र मात्र २ अर्ब २० करोड झन्डै साढे दुई प्रतिशत रहेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा नगर प्रवक्ता रविन्द्र सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष धुब्र बहादुर रायमाझी, आर्थिक विकास समितिका सदस्य तथा वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेलगायतले सहकारी संस्थाहरु मपदण्ड अनुसार नचल्दा समस्या आएकाले नीति नियम र मापदण्डभित्र रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतीत्वमा सम्पन्न कार्यक्रम सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो ।










