कटुञ्जे : सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित ‘ट्राफिक सचेतना कक्ष’को उद्घाटन गर्नु भएको छ । सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ६ स्थित कार्यालय परिसरमा निर्मित सचेतना कक्षको बिहीबार नगर प्रमुख थापाले उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा नगर प्रमुख थापाले ट्राफिक कार्यालयले सचेतना कक्ष निर्माणका लागि आग्रह गरेको दुई महिनामै बजेट व्यबस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको बताउनुभयो ।
ट्राफिक नियमबारे सचेत गराउन कक्ष आवश्यक भएको भन्ने सुन्नासाथ आफूले यसलाई प्राथमिकतापूर्वक कार्यपालिकामा राखेको र बजेट ब्यवस्था भएको उहाँले बताउनुभयो । दुर्घटना न्यूनिकरणमा सचेतना कक्षले महत्त्वपूर्ण काम गर्ने उहाँले बिश्वास ब्यक्त गर्नु भयो ।
सूर्यविनायक नगरपालिकाको ८ लाख लागतमा सचेतना कक्ष बनेको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताउनुभयो ।
ट्राफिक कार्वाहीमा परेका दैनिक १ सय देखि १ सय ५० जनासम्म चालकलाई सचेतना कक्षा लिने गरेको प्रहरी निरीक्षक खत्रीले गराउनुभयो ।
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई जरिवानासंगै अनिवार्य १ घण्टा सचेतना कक्षामा सहभागी हुनुपर्ने नियम लगाएको छ । सोही अनुरुप २०८० साल असार ३ गतेदेखि भक्तपुरमै ट्राफिक समेतना कक्षा संचालन हुँदै आएको हो ।

