सूर्यविनायकले जित्यो बागमती प्रदेशस्तरीय ‘मेयर कप कराते प्रतियोगिता’ को उपाधि, मेयर थापाद्धारा पुरस्कार वितरण तथा सम्मान

जगाती: बागमती प्रदेश स्तरीय ‘मेयर कप कराते प्रतियोगिता’ को उपाधि सूर्यविनायक नगरपालिकाले जितेको छ ।

सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा सूर्यविनायक नगर सितोरियो कराते संघले सूर्यविनायक नगरपालिका वडा नंं ९ स्थित जगातीको सेराटन बैंक्वेटकमा आयोजना गरेको बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले जितेको हो । सूर्यविनायक नगरपालिकाले पाँच गोल्ड र १ सिलवर प्राप्त गदैै उपाधि जितेको हो ।

प्रतियोगितामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका दोस्रो र काठमाडौं महानगरपालिका तेस्रो हुन सफल भयो । त्यस्तै महिला तथा पुरूष कातामा ब्वाईज तर्फ गोदावरी नगरपालिकाका राज भोलान र गल्र्स तर्फ साँघा चौतारा नगरपालिकाकी आशिका तामांग उत्कृष्ठ हुन सफल भईन । प्रतियोगितामा विजयी खेलाडीलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले ट्रफी र प्रमाणपत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले पूर्वाधारको विकाससँगै मानवीय विकासमा विशेष जोड दिदैं आएको बताउनुभयो । नगरपालिकाले खेल क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

खेल क्षेत्रको पूर्वाधार विकासका साथै खेलाडीहरुलाई आवश्यक खेल सामाग्री तथा खेल प्रतियोगिता आयोजना गरि खेलाडीहरु उत्पादन गर्ने कार्यमा पनि सहयोग पुर्याउँदै आएको बताउनहुँदै नगर प्रमुख थापाले आगामी वर्षदेखि कराते प्रतियोगिता हरेक वर्ष गर्ने गरि क्यालेन्डरमै राख्ने घोषणा पनि गर्नुभयो ।

प्रतियोगितामा बागमती प्रदेशका १५ पालिकाका तौल समूह अनुसार भएको महिला, पुरूष गरी २ सय १० जना खेलाडी सहभागि थिए । ३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरूष तथा ३५ केजी तौलदेखि ६१ केजी तौलसम्म महिला गरी १५ खेल र महिला तथा पुरूष कातामा पनि प्रतिस्पर्धा गराइएको आयोजक सङ्घका अध्यक्ष कृष्णराम जाकीबञ्जारले बताउनुभयो ।

हरेक तौल समूहका विजेता खेलाडीलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो। कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नंं २ का वडाधयक्ष प्रदिप कार्की र वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीले सहभागि खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय रेफ्रीहरूले निर्णयकारी भूमिका निर्वाह गर्नु भएको थियो ।

भक्तपुर जिल्ला सितोरियो कराते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले दुई दिने प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको बताउनुभयो । सोही अवसरमा विभिन्न खेल प्रशिक्षक, रेफ्रीहरुलाई सम्मान समेत गरिएको थियो ।