सिपाडोलबाट एसईईमा उतीर्ण विद्याथीहरुलाई सम्मान, उत्कृष्ठ नतिजा आउने क्रम बढ्दै गएकोमा नगर प्रमुख बासुदेव थापाद्धारा खुसी ब्यक्त (फोटोफिचरसहित)

सिपाडोल : सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलले माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई हौसला स्वस्प सम्मान गरेको छ ।

शान्ति निकेतन माविमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले एसईई परिक्षामा उतीर्ण बिद्याथीहरुलाई सम्मान तथा वडा बाट संचालीत कफी मेकिङ्ग (बरिष्टा) तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सिपाडोलबाट उतीर्ण हुन सफल एक सय भन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले एसईई परीक्षामा उतीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

नगर प्रमुख थापाले आफू निर्वाचीत भएर आएपछि विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधिमध्येबाट हुनुपर्छ भन्ने निर्णय गराई कार्यान्वयन गरिएको र नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरि शैक्षीक गुणस्तर अभिबृद्धिमा लागेको स्मरण गराउनुहुँदै अहिले नगरपालिकाले लिएको शिक्षा नीति सफल हुँदै गएकोमा खुसी ब्यक्त गर्नुभयो ।

प्रमुख थापाले नगरपालिकामा उत्कृष्ठ नतिजा आउने क्रम बढ्दै गएकोमा खुसी ब्यक्त गर्नुहुँदै शैक्षीक क्षेत्रको विकास तथा विस्तारका लागि कुनै कसर बाँकि नराख्ने पनि स्प्ष्ट पार्नुभयो ।

नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय, ५८ वटा संस्थागत निजी र ४५ वटा ईसिडी कक्षा सञ्चालनमा रहेका छन् ।

सूर्यविनायक नगरपालिकामा यो वर्ष सामुदायिक र संस्थागत गरी ५१ विद्यालयका १ हजार ३१० जना विद्यार्थी एसईई परिक्षामा सामेल भएकोमा १६ वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् ।

नगरपालिकामा १० जना विद्यार्थीले ४ जिपीए ल्याउन सफल भएका छन् भने नगरपालिकामा ९३ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको छ । सामुदायिक तर्फ अरनिको विद्यालय दधिकोटबाट ७६ जनाले एसईई दिएकोमा ७५ जना ग्रेडेड गराएर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

सामाजिक विकास समितिका संयोजक तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले शैक्षीक क्षेत्रमा लगानी र असल अभ्यासको थालनी गरेसँगै प्रतिफल आउन थालेको बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बस्नेतले विद्यार्थीहरुको हौसल्लास्वस्प सम्मान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य सावित्री मिश्र, वडा सदस्य विक्रम तामागं, वडा प्रशासकीय प्रमुख प्रतिमा लामिछाने, केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेत, शान्ति निकेतन माध्यमिक विद्यालयका प्लस टू ईन्चार्ज टंक प्रसाद घिमिरे, विद्यालयका प्रधानाध्यापक दीपक नेपाल, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायत विभिन्न टोल सुधार समितिका पदाधिकारी तथा अभिभावक र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रम वडा सदस्य अञ्जना नेपालीले सञ्चालन गर्नु भएको थियो ।