भक्तपुर जिल्लाबाट एसईईमा उत्कृष्ठ नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई मेयर बासुदेव थापाद्धारा सम्मान (फोटोफिचर)

कौशल्टार: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाभरिबाट माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा ४ जिपीए प्राप्त गर्ने र विद्यालयमै उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।

सूर्यविनायक नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा प्याब्सन सूर्यविनायकले शनिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

प्रमुख अतिथि थापाले भक्तपुर जिल्लाभरि १८ वटा विद्यालयबाट ४ जिपीए प्राप्त गर्ने ३० जना विद्यार्थी र विद्यालयमा नै उत्कृष्ठ नतिजा हासिल गर्ने १ सय ५ गरि १३५ जना विद्यार्थीलाई खादा, माला प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले एसईई २०८१ मा उतीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । प्रमुख थापाले विद्यार्थीहरुको सफलताको पछाडि विद्यालय, अभिभावक, शिक्षकको पनि महत्वपूर्ण भूमीका हुने बताउनुभयो ।

प्रमुख थापाले नगरपालिकाले संस्थागत र सामुदायिक दुवै विद्यालयहरुलाई विनाभेदभाव ब्यवहार गर्दै शैक्षीक गुणस्तर अभिबृद्धि गर्न लागिरहेको बताउनुभयो ।

उहाँले विद्यार्थी भाई बहिनीहरुलाई असल नागरिक बन्न प्रेरित गर्नुपर्नेमा समेत जोड दिनुभयो । साथै उहाँले नगरपालिकाको तर्फबाट एसईई परिक्षामा उत्कृष्ठ नजिता हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित चाँडै सम्मान कार्यक्रम आयोजना गरिने पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा सूर्यविनायक सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरभित्रका विद्यालयले उत्कृष्ठ नजिता हासिल गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिनुभयो ।

उहाँले संस्थागतसँगै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नजितामा सुधार हुँदै आएको बताउनुभयो ।

आयोजक समितिका बिनोद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका विभिन्न तहका ब्यक्तीत्वहरुले पनि मन्तब्य राख्नुभएको थियो । साथै सोही अवसरमा प्याब्सनको नवनिर्वाचीत सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।