एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सूर्यविनायक नगरपालिकाले गर्यो नगदसहित सम्मान

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।

नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि कक्षा ८ को आधारभूत तहको अन्तिम परिक्षा, कक्षा १० एसईई र कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।

कार्यक्रम नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगर प्रमुख थापाले विद्यार्थीहरुलाई नगदसहित सम्मान गर्नु भएको थियो ।

कक्षा ८ मा उत्कृष्ठ हुने विद्यार्थीलाई १० हजार, एसईई र कक्षा १२ मा उत्कृष्ठ हुने विद्यार्थीलाई समान २५-२५ हजारसहित सम्मान गरिएको थियो । साथै ५० भन्दा बढी विद्यार्थी सहभागि गराई उत्कृष्ठ नतिजा ल्याउन सफल सामुदायिक तर्फबाट अरनिको मावि दधिकोट र शत प्रतिशत नतिजा ल्याउन सफल वडा नंं ९ स्थित भुवनेश्वरी माविलाई नगद् २५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, १० जना भन्दा बढी विद्यार्थी सहभागि गराई शतप्रतिशत नतिजा ल्याउन सफल संस्थागत तर्फबाट वेदीक स्कुल, क्याण्डिड करिअर स्कुल, माउन्ट भ्यू, विमल मेमोरियल स्कूल, हिमाल एकेडेमी, उडेन गार्डेन, सञ्जय साई विद्या मन्दिर, किग्स एकेडेमी, माउन्ट एभरेष्ट, शंखधर मेमोरियल स्कुल र मोडेल जनतालाई पनि सम्मान गरिएको थियो ।

एसईई २०८१ मा भक्तपुर जिल्लाभरबाट ३० जनाले ४ जिपीए ल्याएकोमा सूर्यविनायक नगरपालिकाबाट मात्र १० जनाले ४ जिपीए ल्याउन सफल भएका थिए ।

सामाजीक विकास समितिका संयोजक रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख थापासहित उपप्रमुख सरिता भट्टराई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वाल, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दीपेन्द्र केसी, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, १० का वडाध्यक्ष शिवराम राउत, कार्यपालिका सदस्यहरु क्रमश हेमा दाहाल खतिवडा, सावीत्री मिश्र, शर्मीला बस्नेत, सुनील भुजेल र सुमन परियारलगायत जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।