कटुञ्जे: सूर्यविनायक नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ साउनदेखि ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना सञ्चालन हुने भएको छ ।
स्वीस रेडक्रसको आर्थिक सहयोगमा संञ्चालीत सहारा परियोजना अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य, सुरक्षित, सक्रिय र मर्यादित रुपमा जीवनयापन गर्न सहयोग पुर्याउने हेतुले स्वस्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
बुधबार सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाबीच ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना सञ्चालनका लागि सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा सूर्यविनायक नगरपालिकाका तर्फबाट नगर प्रमुख बासुदेव थापा र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका तर्फबाट सभापती परशुराम पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।
सूर्यविनायक नगरपालिकाले २०८३ चैत मसान्तसम्म सहारा परियोजना संचालनका लागि नीति तथा कार्यक्रममा समेत उल्लेख गरि नगरसभाबाट पारित गरिएको थियो ।
हस्ताक्षर कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, रेडक्रस भक्तपुरका मन्त्री धर्मराज कार्की, प्रवक्ता रविन्द्र सापकोटा, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, १० का वडाध्यक्ष शिवराम राउत लगायत जनप्रतिनिधिहरु र सहारा परियोजनाका संयोजक उमा थापा पनि सहभागि हुनुहुन्थ्यो ।
परियोजना २०२५ देखि २०२८ डिसेम्बर सम्म सूर्यविनायकमा लागु हुनेछ । सहारा परियोजनाले सूर्यविनायक नगरपालिकालाई जेष्ठ नागरिक मैत्री नगरपालिका निर्माणमा सहयोग पुर्याउनेछ ।

