जगाती: सूर्यविनायक नगरपालिका अन्तर्गत सञ्चालित सूर्यविनायक नगर अस्पतालले ५० शैयाको स्वीकृती पाएको छ । नगर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नगर प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापालाई स्वीकृत अनुमति प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।

नगर अस्पतालले २६ चैत २०८१ मा प्रदेश स्वास्थ्य निर्देशनालय हेटौडामा ५० शैया अस्पतालको लागि स्वीकृत पाउँ भनी निवेदन दिएको थियो । निवेदनपछि निर्देशनालयले अनुगमन गरि सम्पूर्ण मापदण्ड पुगेपछि १५ सैयाको आधारभूत अस्पताललाई असार २५ गते ५० शैयामा स्तरोन्नति गरिएको हो ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष थापाले लामो समयको प्रयासपछि ५० शैयाको स्वीकृत प्राप्त भएकोमा खुसी ब्यक्त गर्नुहुँदै अब टिम बनाएर नगर अस्पताललाई ब्यवस्थित रुपमा संचालन गर्ने बताउनुभयो ।

अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई ब्यहोर्नु परेको स्मरण गर्नुहुँदै मेयर थापाले अबको बाँकि कार्यकालमा अस्पताललाई सबैको सबैको रोजाई बनाउन सिंगो जनप्रतिनिधि एकढिक्का भएर अगाडि बढ्ने बताउनुभयो ।

प्रमुख थापाले नगरपालिकाले ५० शैयाको अस्पताल संचालनको लागि १८ करोड बजेट छु्ट्याएको जानकारी गराउनुहुँदै अब भने नगर अस्पताल आफै सक्षम बनाउन लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री थापा मगरले सबैको प्रयासस्वस्प नगर अस्पतालले बागमती प्रदेशमै पहिलो पटक ५० शैयाको अस्पतालको स्वीकृत पाएको भन्दै बधाई समेत बताउनुभयो । उहाँले नगर अस्पताल स्थापनादेखि हालसम्म नगरपालिकाले ठूलो बजेट ब्यवस्थापन गरि सेवा विस्तार गर्दै आएकोमा मन्त्रालयले पनि यो वर्ष २ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा.राकेश कुमार बर्माले ७ फागुन २०७८ मा उद्घाटन भई सेवा शुभारम्भ भएको अस्पतालमा हालसम्म ४५ हजारले सेवा लिइसकेको जानकारी दिनुभयो ।

अस्पतालमा विशेषज्ञ सेवाको रुपमा अक्सिजन प्लान्ट, अपरेशन थ्रिएटर, बर्थिग सेन्टर र आइसियू संचालन भइरहेको र ९० जना चिकित्सक रहेको बताउनुभयो । अस्पतालमा दैनीक २ सय ५० जनाको हाराहारीमा ओपीडीमा सेवा लिने गरेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतम र स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख खगेश्वर गेलाल पालिकाबाट संचालीत १५ शैयाका धेरै नगर अस्पताल संचालन गर्न नसकेर प्रदेशलाई जिम्मेवारी लिन आग्रह गरिरहेको अवस्थामा प्रदेशमै पहिलो पटक ५० शैयामा स्तरोन्नति हुनु गौरवको कुरा भएको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले नगर प्रमुखको नेतृत्वमा अस्पताल संचालनका लागि जनप्रतिनिधिहरु एकढिक्का भई लागिपर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा १० वटै वडाका वडाध्यक्षहरु र जनप्रतिनिधि तथा अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अस्पताल स्थापनासँगै नगरबासीलाई उपचारमा १५ प्रतिशत छुटको ब्यवस्था गरिदैं आएको छ । अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् । नगर अस्पताल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । अस्पताल परिसर निकै सुन्दर र सफा छ भने वरिपरिको वातावरणले सबैलाई लोभ्याउँने गरेको छ ।










