मेयर बासुदेव थापाद्धारा नवनिर्मित पात्लेटार सामुदायिक भवनको उद्घाटन

सिरुटार : नगरबासीको सेवामा निरन्तर समर्पित रहँदै आउनु भएको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आइतबार पात्लेटार सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवनिर्मित भवनको भव्य उद्घाटन गर्नुभएको छ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख थापाले नगरबासीलाई शुद्ध र सुरक्षित खानेपानीको पहुँचमा पुर्याउन नगरपालिका निरन्तर प्रतिबद्ध रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले मेलम्चीको खानेपानीलाई व्यवस्थित वितरणका लागि पाण्डोबजार हाइटमा निर्माण गरिएको ट्यांकीमार्फत वडा नं १ देखि ६ सम्मका वडामा पानी आपूर्ति सुरु गरिएको जानकारी दिनुभयो।

नगर प्रमुख थापाले नगरबासीको आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यसहित ८ करोडको बजेट विनियोजन गरी बृहत्त खानेपानी आयोजना सञ्चालन गरिएको र मेलम्चीको पानी सफलतापूर्वक वितरण गर्न सकिएको बताउनुभयो।

उपभोक्ता समितिका अध्यक्ष सहदेव न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, नगरपालिकाका कानूनी सल्लाहकार गोविन्द चौलागाईलगायत वडाका जनप्रतिनिधि तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो।