जगाती : सूर्यविनायक नगर अस्पतालले सोमबारदेखि औपचारिक रूपमा प्रसूति सेवा सुरु गरेको छ। सेवा प्रारम्भसँगै पहिलो शिशुको सुरक्षित रूपमा जन्म भएको अस्पतालले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ४ स्थित दधिकोटकी प्रनीसा थापाले २.६ केजी शिशुको जन्म दिनु भएको हो ।

पहिलो प्रसूति सेवा सफल बनाएको अस्पतालले आमा सुरक्षा कार्यक्रम अन्तर्गत र नगरपालिकाले गरि नगद ७ हजार समेत प्रदान गरेको छ । नगर उपप्रमुख सरिता भट्टराईले सो रकम हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाइँ, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा.राकेश कुमार बर्मालगायत पनि सहभागि हुनुहुन्थ्यो ।

अस्पतालले केहि समय अघि मात्र ५० शैयाको स्वीकृती पाइसकेको छ । अस्पतालमा विशेषज्ञ सेवाको रुपमा बर्थिग सेन्टरसहित अक्सिजन प्लान्ट, अपरेशन थ्रिएटर र आइसियू संचालन भइरहेको छ ।

अस्पतालमा दैनीक २ सय ५० जनाको हाराहारीमा ओपीडीमा सेवा लिन आउने गरेका छन् । अस्पताल स्थापनासँगै नगरबासीलाई उपचारमा १५ प्रतिशत छुटको ब्यवस्था गर्दै आएको छ ।

