सूर्यविनायक (जगाती), भदौ ३ — बागमती प्रदेशमा पहिलो पटक ५० शैयाको स्वीकृति प्राप्त गरेको सूर्यविनायक नगर अस्पतालको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्थलगत निरीक्षण गर्नुभयो। मन्त्री पौडेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार र व्यवस्थापकीय पक्षहरूको समग्र स्थिति अवलोकन गर्नुभएको हो।
निरीक्षणको क्रममा अस्पताल प्रशासनले मन्त्री पौडेल समक्ष बीमा सुविधा विस्तारको माग प्रस्तुत गरेको अस्पताल प्रमुख ईश्वर प्रसाद पौडेलले जानकारी दिनुभयो। हाल अस्पतालमा ५० शैयाको क्षमता स्वीकृत भए तापनि बीमा सुविधा भने १५ शैयामा मात्र उपलब्ध रहेको जनाइएको छ।

स्थापनाकालदेखि नै सूर्यविनायक नगरपालिकाका नागरिकहरूलाई उपचार सेवामा १५ प्रतिशत छुट दिँदै आएको अस्पताल २०७८ साल फागुन ७ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो। यस अस्पतालबाट हालसम्म करिब ४५ हजार सेवाग्राही लाभान्वित भइसकेका छन्।
अस्पतालमा अक्सिजन प्लान्ट, अपरेशन थियटर, सुरक्षित सुत्केरी सेवा (बर्थिङ सेन्टर) र आइसियू जस्ता विशेषज्ञ सेवाहरू सञ्चालनमा रहेका छन्। अस्पतालमा १०१ जना जनशक्ति कार्यरत छन्। दैनिक औसतमा करिब २५० जनाले ओपीडी सेवा लिने गरेका छन्।

स्वास्थ्य सेवा पहुँचमा सहजता ल्याउने उद्देश्यले स्थापना गरिएको सूर्यविनायक नगर अस्पताल नमुना बनाउन लागिपर्न मन्त्री पौडेलले निरीक्षण पश्चात् प्रतिक्रिया दिनुभएको थियो । सो क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. राकेश कुमार बर्मा र अस्पतालका चिकित्सकहरु पनि सहभागि हुनुहुन्थ्यो ।

