भक्तपुर (कटुञ्जे), ५ भदौ — सूर्यविनायक नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सूर्यविनायक–८ स्थित डोलेश्वर महादेव मन्दिरलाई वि.सं २०६६ भदौ ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।
प्रमुुख प्रशासकीय अधिकृत युवराज आचार्यले एक सूचना जारी गर्नुहुँदै अत्यावश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाउनु भएको छ ।
डोलेश्वरमा बिहानैबाट मन्दिरका चारवटै ढोका खुला गरिने र डोलेश्वरको शिलामा पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
मन्दिरमा महाशिवरात्री, अक्षय तृतीया र भदौ ६ गते हरेक वर्ष तीन दिन मात्र मन्दिरका चारवटै ढोका खुला गरेर शिला छोएर पूजा गर्ने व्यवस्था मिलाउने गरिएको उहाँले बताउनुभयो ।

