हर्षोल्लासका साथ मनाइयो सूर्यविनायक गणेश जात्रा

सूर्यविनायक, भदौ ११ – भक्तपुरको सुर्यविनायकमा गणेश जन्मोत्सव जात्रा एवं गणेश रथयात्रा हर्षोल्लासका साथ मनाइएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको चाँदीको मूर्ति रथारोहन गरी सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ खट बोकेर टोलटोलमा परिक्रमा गरी रथयात्रा मनाइएको हो ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले सूर्यविनायक गणेश मन्दिरमा पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई रथयात्रा गर्ने प्रचलन छ ।

जात्रामा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, संघीय सांंसद तथा नेपाली कांग्रेस भक्तपुरका सभापती दुलर्भ थापा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, सूर्यविनायक उपप्रमुख सरिता तिमिल्सना भट्टराई र नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेल सहभागि हुनुहुन्थ्यो ।

त्यस्तैगरि,नगरपालिकाका वडाध्यक्षहरु क्रमशः वडा नंं १ सानुकाजी कायस्थ, वडा नंं २ का प्रदीप कार्की, वडा नंं ३ का दिपेन्द्र केसी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीसहित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, स्थानीय अगुवा, युवा तथा महिला स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

नगर प्रमुख र संघीय सांसद थापालगायतले खट बोकेर जात्रालाई रौनकता प्रदान गर्नु भएको थियो ।

जात्रामा सहभागी महिला पुरुषले सिन्दूर खेल्दै गणेशको खटलाई मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मका टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा समापन गरिएको हो । जात्रामा सहभागी महिला–पुरुषले परम्परागत भेषभूषा र सिन्दूरमा रङ्गिएर गणेशको खटसँगै हर्षोल्लासपूर्वक परिक्रमा गरेका थिए।

सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीय बासिन्दाले परापूर्वकालदेखि मनाउँदै आएको जात्रालाई विगत ६ वर्षदेखि पुनः निरन्तरता दिएका हुन् ।

समितिका अध्यक्ष तथा वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतका अनुसार वर्षौंदेखि रोकिएको जात्रा आर्थिक स्रोतको अभावका कारण बन्द भएको थियो। तर हाल दुईवटै वडाबाट आर्थिक सहयोग जुटाई जात्रालाई निरन्तरता दिइएको हो । यसले स्थानीयको कला, संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको हो ।