भक्तपुर (सिपाडोल), भदौ १९ — बल्बी खोलामा बगेर मृत्यु भएकी नौ वर्षीय बालिकाको परिवारलाई सूर्यविनायक नगरपालिकाले राहतस्वरूप रु १ लाख नगद आर्थिक सहयोग प्रदान गरेको छ। नगर प्रमुख बासुदेव थापा स्वयं पीडित परिवारको घर पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो।
नैचालका धनकुमार तामाङ र सजिता तामाङ दम्पतीकी छोरी रसमु तामाङलाई गत १२ गते भक्तपुरको सूर्यविनायक–८ आशापुरीस्थित बल्बी खोलाले बगाउँदा ज्यान गएको थियो। भैंसी चराउन गएकी रसमु दिदी संगीता तामाङसँगै खोलो तर्न खोज्दा अचानक आएको बाढीले उनलाई बगाएको थियो।
शोकसन्तप्त परिवारलाई भेट्दै नगर प्रमुख थापाले गहिरो समवेदना प्रकट गर्नुभयो। “बालिकाको असामयिक निधनले सम्पूर्ण नगर परिवार स्तब्ध छ,” उहाँले भन्नुभयो, “नगरपालिकाले आफ्नो क्षमताअनुसार पीडित परिवारलाई साथ दिनेछ।”
सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत र वडा सदस्य विक्रम तामाङ पनि सहभागी हुनुहुन्थ्यो।

