सूर्यविनायक–८ मा नव-निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन, स्थानीयलाई सहज स्वास्थ्य सेवा पुग्ने बिश्वास

सिपाडाेल, १६ बैशाख । सूर्यविनायक नगरपालिका वडा नं. ८ मा नव-निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। भबनको बागमती प्रदेशका स्वस्थ्य मन्त्री किरण थापा र सूर्यविनायक नगरपालिका नगर प्रमुख बासुदेव थापाले सयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले स्वास्थ्यचौकी निर्माणका लागि नगरपालिकाले १० लाख सहयोग गरेको उल्लेख गर्दै अब विकासका काम अन्तिम चरणमा पुगेको धारणा राख्नुभयो।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता भएको बताउँदै आफ्नै पहलमा स्वास्थ्यचौकी निर्माण सम्भव भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा उपप्रमुख सरिता भट्टराई तथा सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रबिन्द्र सापकोटा लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, प्रदेश प्रयोगशालाका कार्यालय प्रमुखसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

त्यसैगरी सामाजिक अभियन्ता, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

उक्त स्वास्थ्य चौकी सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाहरूले अब आफ्नै वडामा सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो।