कटुन्जे, १४, बैशाख : सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यसहित सूर्यविनायक नगरपालिकाले आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग सहकार्य गर्दै नगरपालिकाबाटै प्यान (PAN) नम्बर वितरण सेवा सुरु गरेको छ।

अब नागरिकहरूले प्यान नम्बरका लागि राजश्व कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा समय, श्रम र खर्च बचत हुनुका साथै सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

नगरप्रमुख वासुदेव थापाले नागरिकलाई नजिकबाट सेवा दिने उद्देश्यले नगरपालिकाबाटै प्यान सेवा सुरु गरिएको बताउनुभयो।
“यसले सेवाग्राहीको समय र खर्च बचाउनुका साथै स्थानीय तहप्रतिको भरोसा अझ मजबुत बनाउनेछ। आगामी दिनमा यस्ता सेवाहरू थप विस्तार गर्दै जाने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो l

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरपालिकाबाटै प्यान सेवा उपलब्ध हुनु सेवाग्राहीका लागि ठूलो सहजता भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “अब सामान्य सेवाका लागि टाढा धाउनुपर्ने अवस्था अन्त्य भएको छ। यसले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै सुशासन प्रवर्द्धनमा समेत टेवा पुर्याउँछ।”

यस पहलले कर सेवा स्थानीयकरण गर्दै नागरिकमैत्री शासन प्रणालीलाई मजबुत बनाउने विश्वास गरिएको छ। सूर्यविनायक नगरपालिकाको यो अभ्यास अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्न सक्ने देखिन्छ।


