सूर्यविनायक नगरपालिका नगरबासीलाई मेलम्चीको पानी खुवाउन सफल, २ देखि ६ सम्मका बडाबासीलाई वितरण शूरु, ३५ हजार घरधुरी सम्म पुर्याउने लक्ष्य

पाण्डोबजार: सूर्यविनायक नगरबासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने कार्य सफल भएको छ । मंगलबार सूर्यविनायक नगरपालिका-६ स्थित पाण्डुवबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्यांकीबाट लिफ्टीङ गरेर सुवर्णेश्वर खानेपानी ट्रयाकीमा पानी राखी १ देखि ६ सम्मका वडाका ट्याकीमा पानी खसालेर खानेपानी वितरण गर्ने कार्यको शुभारम्भ गरिएको हो । हाललाई वडा नंं २ देखि ६ वडामा मेलम्चीको खानेपानी वितरण गर्ने कार्य शूरु गरिएको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल सहित १० वटै वडाका वडाध्यक्षहरु, केयूकेएल भक्तपुरका प्रमुख अनिल त्रिखत्री, वरिष्ठ ईन्जिनियर कृष्ण हरि बुढाथोकी, विभिन्न उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरु र स्थानीयको सहभागिताामा खानेपानी आयोजनाको शुभारम्भ गरिएको हो ।

नगर प्रमुख थापाले निकै कठिनाई र चुनौतीका बाबजुत पनि सूर्यविनायक नगरबासीलाई मेलम्चीको पानी खुवाउन सफल भएको बताउनुयो । निरन्तरको पहलकदमी र दबाबका बाबजुत नगरबासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने कार्य सफल भएको नगर प्रमुख थापाले बताउनुभयो ।

उहाँले नगरपालिकाले नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउन ८ करोड बजेट विनियोजन गरि बृहत्त खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको बताउनुभयो ।

गत २०७९ चैतमा सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति भएको थियो ।

सोही सहमतिअनुसार नगरपालिकाले ८ करोड बजेट विनियोजन गरेर पानी वितरणको लागि आवश्यक कार्य अगाडि बढाएको थियो । नगरपालिकाले २०८० असोजमा बृहत्त खानेपानी आयोजना शूरु गरेको थियो । अब नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म करिब दैनिक ३५ लाख लिटर पानी वितरण हुनेछ ।

जनचाहाना अनुसार आफूले काम गर्ने बताउनुहुँदै नगर प्रमुख थापाले सबै नगरबासीको साथ सहयोग भएकै कारण खानेपानी वितरण गर्न सफल भएको र आगामी दुई वर्षे कार्यकालमा पनि यस्तै सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापा मगरले लामो समय धैर्यता गरेकै कारण सबैको सहयोगमा नगरबासीले मेलम्चीको पानी खान पाएको बताउनुभयो ।

सूर्यविनायक नेपालकै सबैभन्दा बढी जनघनत्व भएको नगरपालिका भएकाले खानेपानीको माग बढिरहेको अवस्थामा मेलम्चीको खानेपानी वितरणले खानेपानी समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो ।

नगरपालिका उपप्रमुख तथा नगरपालिकाको तर्फबाट आयोजना संयोजक सरिता तिमसिना भट्टराईले नगरपालिकाले वाचा गरेको प्रतिबद्धता अनुसार आयोजना सफल भएकोमा खुसी ब्यक्त गर्नुहुँदै सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

नगरपालिकाका नगर प्रवक्ता रविन्द्र सापकोटाले दोस्रो चरणमा ७ देखि १० वडाबासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताउनुभयो ।

नगरपालिकाका पूर्वाधार शाखा प्रमुख जनक न्यौपानेका अनुसार हालसम्म १० हजार ९ सय ७० मिटर पाईपलाईन विस्तार गर्ने कार्य सम्पन्न भएको छ । अब वडा नंं १ सिरुटारमा २ देखि ३ किलोमिटर पाईपलाईन विस्तार गर्न बाँकि छ ।

सम्पूर्ण संरचना बन्नेसँगै वडा नंं १ मा पनि पानी वितरण गरिनेछ । वडा नंं २ देखि ६ सम्मका सुवर्णेश्वर, पाण्डुवजार, बालकोट, दक्षिणवाराही, सिकारीटार, घट्टेखोला लगायतका ट्यांकीमा पठाइएको पानीको परिक्षण सफल भएपछि मंगलबार मेलम्ची खानेपानी वितरण गर्ने कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

मेलम्चीको पानी नगरभित्रका ३५ हजार घरधुरी सम्म पुर्याउने लक्ष्य छ ।

शुभारम्भ कार्यक्रममा केयूकेएल भक्तपुरका प्रमुख अनिल त्रिखत्री, वरिष्ठ ईन्जिनियर कृष्ण हरि बुढाथोकी, निर्माण ब्यवसायी, वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ का वडाध्यक्ष राजकुमार जोशी, ६ का वडाध्यक्ष ईश्वर खडका, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम राउत, वडा नंं १ का कार्यवाहक वडाध्यक्ष कुमार चौलागाईलगायत जनप्रतिनिधिहरु पनि सहभागि हुनुुहुन्थ्यो ।