पाण्डोबजार । सूर्यविनायक नगरपालिका वडा नंं ६ मा अवस्थित पाण्डोबजार खानेपानी योजना तथा जल उपभोक्ता समितिको १४ औं वार्षिक साधारणसभाको उद्घाटन सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले पानसमा दिप बालेर साधारणसभाको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले सूर्यविनायक नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन लागिपरेको बताउनुभयो ।

नगरपालिकाले केहि दिन अघि मात्र पाण्डोबजार हाइटमा निर्मित मेलम्चीको खानेपानी ट्यांकीबाट वडा नंं. १ देखि ६ सम्मका वडामा पानी वितरण शूरु गरिएको बताउनुहुँदै लामो समयदेखिको प्रयास र सघर्षका बाबजुत ६ वटा वडामा मेलम्चीको पानी वितरण गरिएको र बाँकि वडामा पनि वितरण हुने बताउनुभयो ।

उहाँले नगरपालिकाले नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउनकै लागि बृहत्त खानेपानी आयोजना सञ्चालन गरि ८ करोड बजेट विनियोजन गरि मेलम्चीको पानी वितरण गर्न सफल भएको बताउनुभयो ।

नगर प्रमुख थापाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई नगरको सम्पूर्ण खानेपानीको जिम्मा दिने गरि गृहकार्य अगाडि बढाइएको पनि जानकारी गराउनुभयो ।

केयूकेएलाई खानेपानीको जिम्मेवारी दिदां नगरबासीलाई खानेपानी खुवाउन सहज हुने र सस्तो पनि पर्ने भएकाले दिर्घकालीन सोच राखेर जनताप्रति उत्तरदायी हुँदै कार्य अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

भूमीगत पानीको भरपर्दा धेरै ठाउँमा खानेपानीको चरम अभाव भोग्नु परिरहेको बताउनुहुँदै केयूकेएल मातहत लैजादा हिमालबाट हिउँ पग्लेर आएको पानी पनि खान पाउने र बजेटदेखि सबै ब्यवस्थापन उसैले गर्ने भएकाले ढिलो नगरी निर्णय गरेर हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नंंं ६ का वडाध्यक्ष ईश्वर खडकाले जनतालाई खानेपानी खुवाउनकै लागि केयूकेएल मातहत लैजाने निर्णय भएको उल्लेख गर्नुहुँदै खानेपानी उपभोक्ता समितिबीचमा ब्यापक छलफल गराएर केयूकेएलाई हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो ।

समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सचिव प्रविन ध्वजुले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राम सुन्दर सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो

