सामुदायिक वन उपभोक्ता समूहहरुलाई क्रियाशील बनाउनुपर्नेमा सूर्यविनायकका मेयर थापाको जोड

सूर्यविनायक: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सामुदायिक वन उपभोक्ता समूहहरु क्रियाशील हुनुपर्नेमा जोड दिनु भएको छ । सामुदायिक वन उपभोक्त्ता महासंघ नेपाल भक्तपुरले आइतबार राष्टिय प्राणी उद्यानको कार्यालय सूर्यविनायकमा आयोजना गरेको ‘कार्ययोजना निर्माण सम्बन्धी अभिमुखीकरण ‘कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले सो कुरा बताउनुभएको हो ।

उहाँले सामुदायिक वन उपभोक्ता समूहबाट कार्ययोजना ल्याएमा नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । नगर प्रमुख थापाले नगरपालिकाका जनप्रतिनिधिहरु एकढिक्का भएर नगरलाई समृद्धि बनाउने कार्यमा अगाडि बढिरहेको बताउनुहुँदै अबको बाँकि दुई वर्षे कार्यकालमा जोस, जाँगरका साथ अधुरा योजना पूरा गर्न लागिपर्ने स्पष्ट पार्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुर अध्यक्ष पार्वती श्रेष्ठ नगरकोटीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका वन, वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष भगवान खत्री, महासंघका केन्द्रीय सदस्य रामेश्वर बोहरा लगायतले प्रशिक्षण दिनुभएको थियो ।