सिटी गाउँ: नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा भक्तपुरमा पत्रकारहरुका लागि मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

बिहीबार सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममको नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख थापाले विकास निर्माणको कार्यमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पत्रकारहरुले सत्य, तथ्यको आधारमा समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुहुँदै तथ्यहीन समाचार प्रकाशन गरिंदा भ्रम फैलने भएकाले सचेत भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न विगतदेखि नै निरन्तर सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

पत्रकार महासंघ भक्तपुरलाई सूर्यविनायक नगरपालिकाले जग्गा उपलब्ध गराएको स्मरण गर्नुहुँदै भवन निर्माणमा पनि सहयोग गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पत्रकारहरूको व्यावसायिक क्षमता विकासमा अभिमुखीकरण कार्यक्रमले योगदान पुर्याउने विश्वास व्यक्त गर्दै डिजिटल माध्यमको दुरुपयोगप्रति सजग रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराईले सञ्चारकर्मीहरूले नगरपालिकाका गतिविधिलाई जनतासम्म पुर्याएर सकारात्मक भूमिका खेल्दै आएको बताउनुहुँदै बदलिँदो डिजिटल प्रविधिप्रति सतर्क रहनुपर्ने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले सूर्यविनायक नगरपालिकालाई कार्यक्रमका लागि सहयोग उपलब्ध गराएकोमा आभार प्रकट गर्दै वर्तमान डिजिटल युगमा मोबाइल पत्रकारिता आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका नगर प्रवक्ता रविन्द्र सापकोटा पनि सहभागि हुनुहुन्थ्यो ।


